रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता, विमानस्थल विकासमा मात्रै पौने १८ अर्ब
नेपाल सरकारले एशियाली विकास ब्यांक (एडीबी)सँग करीब रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता गरेको छ। सरकारले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) परियोजना अन्तर्गत एडीबीबाट उक्त सहुलियत ऋण लिने गरी सम्झौता गरेको हो।
यो ऋणमध्ये विमानस्थलको क्षमता अभिवृद्धि गर्नमात्रै करीब रू. १७ अर्ब ७० करोड रहेकाे छ। रू. ४ अर्ब ७२ करोड सहुलियत ऋण र बाँकी रू. १ अर्ब १८ करोड अनुदान नदी बेसिनमा आधारिक बाढी जोखिम व्यवस्थापन परियोजनाका लागि भएको एडीबीले जानकारी दिएको छ।
नेपालले एक करोड डलर अनुदानमा र बाँकी १९ करोड डलर सहुलियत ऋणमा उक्त ऋण लिने सम्झौता गरेको एडीबीले ८ पुस (बुधबार) एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल आवासिय अफिस इन्चार्ज रुदी लुइस हेन्ड्रिकस भानले ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।
एडीबीले दिएको विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गतको उक्त ऋणबाट समानान्तर ट्याक्सीवे, ह्याङ्गार एप्रोन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ चरणको वर्क डिजाइन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको दोस्रो टर्मिनल भवन बनाउनमा प्रयोग गरिने उल्लेख छ।
बाँकी करी रू. ५ अर्ब ९० करोड भने नदी बेसिनमा आधारित बाढीको जोखिम नियन्त्रण तथा त्यसको आवश्यक पूर्वाधार बनाउन मात्रै खर्च गर्ने पाइने शर्त राखिएको छ।
यस्तो ऋण सहयोगले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने र भएका पूर्वाधारको क्षमता विकासमा थप सहयोगी हुने उल्लेख गरे। विमानस्थको क्षमता बृद्धि र नदी वेसिनमा आधारित दुबै आयोजनाले नेपाली जनतको लागि महत्वपूर्ण नतिजा दिने उल्लेख गरे।