भीमफेदीदेखि गाडी बोकेर काठमाडौँ ल्याएका घलानको निधन
तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये एक हिराबहादुर घलानको निधन भएको छ।
मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय घलानको गए राति निधन भएको हो। उनले २५ वटा गाडी बोकेका थिए। अब राणा शासनमा गाडी बोकेर काठमाडौँ भित्र्याउने सबै जनाको मृत्यु भएको छ।
दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने जीवित पात्र थिए। वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताएका छन्।
घलानले २००६ सालदेखि नै गाडी बोक्न शुरु गरेका थिए। ९६ जनाले बोक्ने गाडी भने उनले एक पटक मात्रै बोकेका थिए। त्यस्तै ६४ जनाले बोक्ने गाडी १० पटक बोकेका थिए।
राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दालाई भरिया बनाइन्थ्यो। थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए।
आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले बताउने गरेका थिए। उनी एक वर्षदेखि पक्षाघातले थलिएका थिए। उनका दुई छोरा र तीन छोरी छन्।