नाटकघर खोल्ने पहलमा रंगकर्मीहरु
नेपाल चलचित्र संघले १० पुसबाट सिनेमाघरहरु खोल्ने घोषणा गरेपछि रंगकर्मीहरु पनि नाटकघर खोल्न छलफलमा जुटेका छन्। सम्भावित जोखिम कम गर्न स्वास्थ्य मापदण्ड अपनाएर नियमित नाटक मन्चनको सम्भावनाबारे छलफल भइरहेको रंगकर्मीहरु बताउँछन्।
देशभरका ६१ वटा नाट्य संस्थाहरु आवद्घ भएको थिएटर हबमा कसरी र कहिलेदेखि नाटकघरहरु खोल्ने भन्ने विषयमा छलफल भइरहेको शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले बताए। कोरोना महामारीको कारण १० महीनादेखि नाटकघर बन्द गर्नुपर्दा यो क्षेत्रले ठूलो नोक्सान व्यहोरी सकेको उनको भनाइ छ।
अधिकांश नाटकघरहरुले अहिले नाटक पढाउने, भर्चुृअल छलफल गर्ने, भर्चुअल नाटक देखाउने गरिरहेका छन्। तर, दर्शकलाई अगाडी राखेर नाटक मन्चन गर्न भने पाएका छैनन्। निर्देशक घिमिरे भन्छन्, “अब नाटक घर पनि खुल्नुपर्छ भन्ने हाम्रो भनाइ छ। खुल्दाखेरि सबै एकै साथ खोल्ने हो। मिति तय भएको छैन। छलफलमा छौं।”
जनवरीदेखि नाटकघर खोल्ने तयारी भईरहेको उनले बताए। त्यसको लागि शिल्पीले नाटक रिहर्सल समेत गरिरहेको निर्देशक घिमिरेले जानकारी दिए।
मन्डला नाटकघरले भने युट्युबमा राख्ने गरी नाटकको तयारी गरिरहेको अध्यक्ष सिर्जना सुब्बा बताउँछिन्। उनी भन्छिन्, “अहिले नाटकघर खोल्नभन्दा पनि दर्शकको अत्यधिक चासो र चाहानाको कारण युट्युबमार्फत नाटक मन्चन गर्ने तयारी गरिरहेका छौं। संक्रमणको जोखिम अझै अनिश्चित भएकाले नाटकघर खोल्ने निर्णय गर्न गाह्रो भएको छ।”
मन्डलाकै रंगकर्मी विजय बराल सिनेमाघर खुलेपछि दर्शकले दिने प्रतिकृया हेरेर नाटकघर खोल्ने वा नखोल्ने निर्णय लिन सहज हुने बताउँछन्। उनी भन्छन्, “फिल्म हेर्न दर्शक आउनुभयो भने त नाटक हेर्न पनि आउनुहुन्छ भन्ने अनुमान हो।” जोखिमलाई ध्यानमा राखेर, विशेष सतर्कताका साथ नाटकघर सुचारु गर्दै जान छलफल भइरहेको उनको भनाइ छ।
सर्वनाम थिएटरका संस्थापक अध्यक्ष अशेष मल्ल भने समाजप्रतिको दायित्वको कारण रंगमञ्च शुरु गर्न अझै समय लाग्ने बताउँछन्। उनी भन्छन्, “संक्रमणको खतरा कायमै छ। यस्तो अवस्थामा आफ्नो व्यवसायका लागि जनतालाई जोखिममा राखेर नाटकघर खोल्न सकिँदैन।” संक्रमण फैलिहाले झन् लामो समय नाटकघर बन्द गनुपर्ने स्थितिसमेत आउन सक्ने भएकोले हतार गर्न नहुने उनको भनाइ छ।