मेस्सीले पेलेको कीर्तिमान भंग गरेको खेलमा बार्सिलोना विजयी
मेस्सीले एउटै क्लबबाट सबैभन्दा बढी गोल गर्ने ब्राजिलियन फुटबलर पेलेको कीर्तिमान भंग गरेको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० गोलले पराजित गरेको छ।
मेस्सीले खेलको ६५औँ मिनेटमा टीमका लागि तेस्रो गोल गर्दै पेलेको कीर्तिमान तोडेका थिए। बार्सिलोनाका लागि मेस्सीको यो ६४४औँ गोल हो। पेलेले ब्राजिलियन क्लब सान्तोषमा १९ सिजन बिताउँदा ६४३ गोल गरेका थिए।
मेस्सीले बार्साका लागि सन् २००५ मा पहिलो गोल गरेका थिए। गएको शनिबार भ्यालेन्सियाविरुद्ध गोल गर्दै उनले पेलेको कीर्तिमान बराबरी गरेका थिए। उनले अहिलेसम्म बार्सिलोनाका लागि ७४९ खेल खेलेर प्रत्येक औसत १.१६ खेलमा गोल गरेका छन्।
३३ वर्षीय मेस्सीले आफ्नो करियर बार्सिलोनाबाटै शुरु गरेका थिए। बार्सिलोनाबाट उनले १० ला लिगा र चार च्याम्पियन्स लिग उपाधि जितेका छन्। उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन्।
यो सिजन जनवरीमा बार्सासँगको उनको करार सकिँदैछ। गएको अगष्टमा नै उनले बार्साको व्यवस्थापनसँग आफूलाई फ्रि ट्रान्स्फर दिन आग्रह गरेका थिए। तर, व्यवस्थापनले ७०० युरोको ट्रान्स्फर क्लज लागू हुने जनाएको थियो। यहीकारण मेस्सीले केही दिनअघि मात्र आफू गएको समरमा कठिन समयबाट गुज्रिँदा खेलमा असर पुगेको बताएका थिए।
बार्साले यो सिजन खराब प्रदर्शन गरिरहेको छ। रियल भाल्लाडोलिड पराजित गरेपछि भने बार्सा २४ अंकसहित पाचौँ स्थानमा उक्लेको छ। बार्साले १४ खेल खेलेको छ।
१३ खेल खेलेको एथ्लेटिको मड्रिड ३२ अंकसहित शीर्ष स्थानमा छ। एथ्लेटिकोले गए राति नै भएको खेलमा रियल सोसिडाडलाई २-० गोलले पराजित गरेको छ। जितसँगै उसले रियल मड्रिडसँग स्पष्ट तीन अंकको दूरी कायम गरेको छ।
रियल मड्रिडको १४ खेलबाट २९ अंक छ। सिजनको शुरुमा गतिलो प्रदर्शन गर्दै अंकतालिकाको शीर्षस्थानमा रहेको रियल सोसिडाड भने १६ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ। यसअघि सोसिडाड अर्को शीर्ष स्थानको क्लब रियल मड्रिडसँग पनि पराजित भएको थियो।