पाँच वर्षअघि उद्धार गरिएका दुई बाङ्गलादेशीलाई आज स्वदेश फर्काइँदै
चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन बिताइरहेको भेटिएपछि उद्धार गरिएका दुई बाङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ।
सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बाङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई स्वदेश फर्काइन लागिएको हो। उनीहरुलाई २०७२ सालमा सडकबाट उद्धार गरिएको थियो।
पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बाङ्गलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन्। उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत पठाएर घरमा पुनःमिलन गराउन लागिएको उनको भनाइ छ।
चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर किरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुस्किल थियो।
विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ। बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो। अहिले उनी पनि स्वस्थ भएका छन्।
उनीहरुलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै बाङ्लादेश जाँदै छन्। उनीहरुलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले बिदाइ गरेका छन्।
आश्रमले यसअघि पनि तीन बङ्गलादेशी नागरिकलाई परिवारमा पुनःमिलन गरिसकेको छ। हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको आश्रमले जनाएको छ।
अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरै भारतीय छन्। उनीहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको आश्रमले जनाएको छ।