राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
विघटित प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरूले मंगलबार रिट दर्ता गराएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर ५ वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने हकबाट आफूहरूलाई वञ्चित गराएको सांसदहरूले रिटमा उल्लेख गरेका छन्।
सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए।
यससँगै प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका छन्। सबै रिटको सुनुवाइ भोलि, बुधबार हुनेछ।
नेकपाका सांसदहरूले मंगलबार दर्ता गरेको रिटमा राष्ट्रपतिबाट भएको संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।