राजनीतिक अन्योलका बीच शेयर बजारमा उछाल
शेयर बजार परिसूचक नेप्सेमा मंगलबार उछाल आएको छ। प्रतिनिधि सभा विघटनसँगै राजनीतिक अस्थिरता बढ्दै गएपनि शेयर बजारले लगानीकर्ताको उत्साहलाई कायम राखेको देखिएको छ।
आज नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१ विन्दु नाघेको छ। यो ४.८६ प्रतिशतको वृद्धि हो। आज कारोबार भएकामध्ये १५९ कम्पनीको शेयर मूल्य बढेका छन् भने शेयर मूल्य घट्ने कम्पनी ८ वटा मात्रै छन्।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्स, नबिल ब्यांक, साञ्जेन जलविद्युत, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशियाजस्ता कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ। नारायणी विकास ब्यांक, युनाइडेट इदी मार्दी कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै करीब १० प्रतिशतले घटे।
आज सबै समूहका उपसूचक सकारात्मक भए। जीवन बीमा समूह सबैभन्दा धेरै ७.४३ प्रतिशतले बढेको छ। जलविद्युत ५.१४, निर्जीवन बीमा ५.७३, माइक्रोफाइनान्स ३.३६ तथा ब्यांकिङ समूह ४.८२ प्रतिशतले बढे।
नेप्से परिसूचक मात्रै होइन्, कारोबार रकममा पनि उत्साहजनक देखिएको छ। आज रू. ६ अर्ब ७४ करोड बराबरका शेयर किनबेच भए।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया र प्रभु ब्यांकको शेयर किनबेच भयो। ब्यांकको ब्याजदर कम रहेको तथा लगानीकर्ताको संख्या थपिइरहेका कारण बजार उकालो लागेको अनुमान गरिएको छ।