नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। दिउँसो १ बजे बैठक बस्ने भनिए पनि केन्द्रीय कमिटी बैठकअघि नै स्थायी कमिटी बैठक बसेकाले केही ढिला भएको नेताहरूले बताएका छन्।
बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा शुरू भएको बैठकले एकलौटी निर्णयबाट अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेको भन्दै सो निर्णय विरुद्ध सर्वोच्च अदालत जाने र अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायतको प्रस्तावमा छलफल गर्ने कार्यसूची यसअघि नै तय गरेको थियो।
यसअघि हिजो बसेको यो समूहको संसदीय दलको बैठकमा पनि विघटिन प्रतिनिधि सभाका सांसदहरू विघटनको निर्णय विरुद्ध अदालत जाने निर्णय भएको थियो।
त्यस्तै, पार्टी दर्ता हुँदा बुझाइएको ४४१ जनाको हस्ताक्षरमध्ये बहुमत सदस्य आफूहरूसँग रहेको भन्दै निर्वाचन आयोगमा जाने तयारी पनि दाहाल-नेपाल समूहको छ।
बैठकको शुरूमा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीकै कारण आजको अवस्था आइपुगेको बताए।
प्रधानमन्त्रीकै हैसियतमा रहँदा संविधानमा हुँदै नभएको कार्य गरी संविधान र गणतन्त्रको विरोधी काम गरेकाले आफूहरूले पार्टी, देश र राजनीतिक व्यवस्थालाई संरक्षण गर्ने बताए।