ओली समूहले निर्वाचन आयोगमा बुझायो केन्द्रीय कमिटी विस्तारको पत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी विस्तारको पत्र निर्वाचन आयोगमा बुझाएको छ। मंगलबार बिहान बालुवाटारमा बसेको ओली समूहको बैठकले ५५६ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो।
तर, आयोगमा बुझाइएको पत्रमा भने सोमबार, ६ पुसको मिति राखिएको छ। “केन्द्री कमिटीमा सदस्य मनोनयन सम्बन्धी पत्र आइपुगेको छ। ६ गतेको निर्णयअनुसार ५५६ जना केन्द्रीय कमिटीमा थपिएको भन्ने व्यहोरा छ”, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो।
बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ। यस्तै, पार्टीको महाधिवेशन २ मंसीर २०७८ मा गर्ने निर्णय गरेको छ।
पहिलो वरीयताका अध्यक्ष र महासचिव आफूसँगै रहेकाले आफूहरू नै वैधानिक नेकपा भएको प्रवक्ता ज्ञवालीले बताएका छन्।
यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा शुरू भएको छ।
बैठकले ओलीलाई अध्यक्षबाट कारबाही गरी उक्त पदमा नेता नेपाललाई मनोनयन गर्ने तयारी गरेको छ।
दिउँसो १ बजे बैठक बस्ने भनिए पनि केन्द्रीय कमिटी बैठकअघि नै स्थायी कमिटी बैठक बसेकाले केही ढिला भएको नेताहरूले बताएका छन्। बैठकले एकलौटी निर्णयबाट ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेको भन्दै सो निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय पनि गर्नेछ।
बैठकको शुरूमा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीकै कारण आजको अवस्था आइपुगेको बताए। प्रधानमन्त्रीकै हैसियतमा रहँदा संविधानमा हुँदै नभएको कार्य गरी संविधान र गणतन्त्रको विरोधी काम गरेकाले पार्टी, देश र राजनीतिक व्यवस्थालाई संरक्षण आफूहरूले गर्ने उनले बताए।
यसअघि हिजो बसेको यो समूहको संसदीय दलको बैठकमा पनि विघटिन प्रतिनिधि सभाका सांसदहरू विघटनको निर्णय विरुद्ध अदालत जाने निर्णय भएको थियो।
त्यस्तै, पार्टी दर्ता हुँदा बुझाइएको ४४१ जनाको हस्ताक्षरमध्ये बहुमत सदस्य आफूहरूसँग रहेको भन्दै निर्वाचन आयोगमा जाने तयारी पनि दाहाल-नेपाल समूहको छ।