केन्द्रिय कमिटीमा नयाँ सदस्य थप्ने ओली पक्षको तयारी, टोपबहादुर रायमाझी र मणि थापा पनि बालुवाटारमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रिय कमिटीमा नयाँ सदस्य थप गर्ने तयारी गरेको छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गरेर उक्त स्थानमा नयाँ सदस्य थप गर्ने ओली पक्षले तयारी गरेको हो। अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने केन्द्रिय समितिको बैठकले कारबाही तथा नयाँ सदस्य मनोनयनको निर्णय गर्ने बताइएको छ।
नयाँ सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन। बैठकमा नयाँ सदस्यको नामावली प्रस्तुत गर्ने ओली समूहको तयारी छ। त्यसलगत्तै सपथग्रहण पनि हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठक ९ बजेको लागि बोलाइए पनि अझै शुरु भएको छैन। केन्द्रिय सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ।
यसैबीच पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी र मणि थापा पनि बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्। यसअघि पूर्व माओवादी खेमाका लेखराज भट्ट मात्र ओली पक्षमा खुलेका थिए। रायमाझी र थापा दुवै पक्षका भेला र बैठकमा सहभागी थिएनन्।