जो बाइडेनले लगाए कोरोना खोप, टीभीबाट प्रत्यक्ष प्रसारण
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोटेकको कोरोना खोपको पहिलो डोज लगाएका छन्। उनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनले बताएका छन्। उनले डेलावेयरको नेवार्कमा खोप लगाएका हुन्। यो खोप कार्यक्रमको श्रेय ट्रम्प प्रशासनलाई दिनुपर्ने उनले बताए।
बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिएका छन्। नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्हाफले आगामी साता खोप लिने अपेक्षा गरिएको छ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नान्सी पेलोसीले पनि खोपको पहिलो डोज लिइसकेका छन्। अमेरिकाले भर्खरै मात्र फाइजरको खोप प्रयोगका लागि अनुमति दिएको थियो। गत हप्ता मोडेर्नाको खोपलाई पनि अनुमति दिइसकेको छ। उक्त खोप पनि चाँडै सर्वसाधारणलाई लगाउन शुरु गर्ने तयारी छ।
नवनिर्वाचित राष्ट्रपति बाइडेनको टीमले ह्वाइट हाउस प्रशासन सम्हालेको १०० दिनमा अमेरिकाका १० करोड मानिसलाई खोप दिने लक्ष राखेको छ। उनको कार्यकाल २० जनवरीबाट शुरु हुनेछ। अहिलेसम्म अमेरिकामा पाँच लाख जनालाई कोरोना खोपको पहिलो डोज लगाइसकिएको बताइएको छ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोना खोप लगाएका छैनन्। उनले आफूले लगाउने वा नलगाउने कुनै जानकारी दिएका छैनन्। उनी गएको अक्टोबरमा कोरोना संक्रमण भएपछि तीन अस्पतालमा बसेका थिए।