माडीमा थुनिएको खोला खोलिने
पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पन्छाइने भएको छ। गएको १ पुसमा सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने डाँडो भत्कँदा खोला पुरिएको थियो।
माडी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ। माडी नगरपालिकाका मेयर ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षामा फुटेर ठूलो नोक्सान हुन सक्ने बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले हिजो सो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ। अनुगमनपछि मेयर ढकालले तत्काल जेसिबी लगेर खोला खोल्ने काम शुरु गर्ने निर्णय भएको जानकारी दिए।
नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उनले बताए। उनले भने, “जेसिबी लगेर काम गर्न सकिन्छ वा सकिदैन यसै भन्न सकिदैन तर हामी प्रयास गर्दैछौँ।” खोला थुनिएको ढिस्को कमजोर र गढ्न सक्ने भएकाले जेसिबीबाट काम गर्न कठिन छ।
अहिले पहिराले थुनेको ठाउँमा तीन मिटर हाराहारी पानी छ । ढकालका अनुसार वर्षातमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडा प्रभावित हुनेछ। सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उनको भनाइ छ।
खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ । खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि सङ्कट शुरु भएको स्थानीयवासीको भनाइ छ ।