बिदाको विकृति
आन्तरिक पर्यटनका लागि सातामा आइतबार पनि बिदा दिने सरकारी समितिको प्रस्तावले पर्यटन प्रवद्र्धन नभई बिदा नै बिदाको विकृति ल्याउन सक्ने देखिन्छ।
सातामा शनिबारवाहेक आइतबार पनि सार्वजनिक विदा दिनेसम्बन्धमा हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित अध्ययन समितिले प्रस्ताव गरेको छ। समितिले नीजि क्षेत्रलाई पनि यस्तै विदासम्बन्धी व्यवस्था अपनाउन प्रोत्साहित गर्न सुझाव दिएको छ।
सरकारी समितिको यो प्रस्ताव पारित भएमा वर्षमा कम्तिमा ५० दिन विदा थपिने छ। शनिबारको विदा मात्र हिसाब गर्ने हो भने अहिले वर्षमा ५० दिनको विदा हुने गरेको छ।
सरकारी प्रस्तावमा सातामा दुई दिन सार्वजनिक विदा निर्णयलाई ‘अन्तर्राष्ट्रिय अभ्यास’ भनिएको छ। विश्वका ८८ प्रतिशत मुलुकहरुमा शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक विदा दिने चलन रहेको पाइन्छ। सातामा दुई दिन विदा रहेकै कारण ती मुलुकहरुमा आन्तरिक पर्यटनको विकास भएको बुझाइ समितिको छ।
सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गर्ने सरकारी समिति अन्य विदाहरु बारे भने मौन छ। हामीकहाँ विभिन्न सांस्कृतिक पर्व, दिवस तथा जन्मजयन्तीका नाममा पनि मनग्गे विदा दिने गरिन्छ। सार्वजनिक विदा थप गर्ने प्रस्ताव गर्दा यी पर्व र सन्दर्भ विशेषका केहि विदाहरुमा कटौती गरिने, नगरिने भन्ने बारे भने समितिको प्रस्ताव मौन रहेको छ।
पर्व विदाको रुपमा वैशाख १ गते नव वर्ष, महाशिवरात्री, फागूपूर्णिमा, बुद्ध जयन्चती, दशैं र तिहारमा मुख्य रुपमा मुलुकभर सार्वजनिक विदा दिइन्छ। सम्बन्धित पर्व मनाउने समुदाय वा स्थान विशेषमा मात्रै विदाको प्रबन्ध पनि मिलाइएको छ। संविधान दिवस, विश्व मजदूर दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक विदा दिइन्छ।
मुलुकमा विद्यमान अन्य यस्ता विदाहरुका सन्दर्भमा विचारै नगरी आइतवार थप सार्वजनिक बिदा दिने प्रस्ताव कति वैज्ञानिक छ ? यसबारे थप बहस आवश्यक देखिन्छ।
यसबाहेक हरितालिका र जितिया पर्वमा महिला कर्मचारीका लागि मात्रै विदाको व्यवस्था छ। अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्गता भएका कर्मचारीहरुलाई मात्र सार्वजनिक विदाको व्यवस्था छ। शिक्षण संस्थाहरु बसन्त पञ्चमीका दिन विदा हुन्छन्।
कतिपय व्यक्तित्वका नाममा दिइने कतिपय विदा कटौती गरिएको भए पनि भएपनि अहिले ती विदाहरु पुनः सुरु हुनुपर्ने माग पनि छ। यो बाहेक बेलाबेला मन्त्रीपरिषद्को निर्णय भन्दै पात्रोमा उल्लेख नै नभएका विदाहरुको सिर्जना गरिनु अनौठो होइन।
मुलुकमा विद्यमान अन्य यस्ता विदाहरुका सन्दर्भमा विचारै नगरी आइतवार थप सार्वजनिक बिदा दिने प्रस्ताव कति वैज्ञानिक छ ? यसबारे थप बहस आवश्यक देखिन्छ।
के साताको दुई दिन सार्वजनिक बिदा दिइदैंमा आन्तरिक पर्यटकको संख्या बढ्छ त ? के सार्वजनिक विदा नदिइएकै कारण नेपालीहरुले घुमफिरको अवसर नपाएका हुन् त ? सुन्दा आंशिक सत्य जस्तो लागे पनि यो सत्य होइन।
सातामा दुई दिनको विदाले कहाँ र कति घुम्ने भन्ने प्रश्न उठ्छ। यसले छोटो दुरीको गन्तव्यलाई दुई दिनमा नै भ्याउनु पर्ने हुन्छ। विकसित मुलुकमा जस्तो यातायातको सहज सुविधा नभएका कारण आन्तरिक पर्यटन अझ संकुचित हुने निश्चित छ।
सीमित आयश्रोतकै कारण हप्तैपिच्छे आन्तरिक पर्यटन बन्न पनि गाह्रो छ। टाढा र लामो यात्रामा जान नसक्नेहरू नजिकका ठाउँहरुमा मात्रै रुमल्लिने अवस्था पनि आउने देखिन्छ। विदाको सदुपयोग घरैमा यत्तिकै बसेर वा अनुत्पादक काममा खर्चनु पर्ने पनि हुनसक्छ।
पर्यटनका लागि राज्यले प्रोत्साहनको नीति लिए पनि आम्दानीको स्रोत बारे भने कुनै नीति बनेको छैन। सरकारको प्रस्तावले महीनावारी तलब बुझ्ने कर्मचारीमा केन्द्रित छ। त्यसो हुँदा ज्यालादारीमा काम गर्ने ठूलो हिस्साले के गर्ने ? सातामा थप एक दिनको बिदाले उनीहरुको जीवीकोपार्जनमा कस्तो असर पु¥याउँछ ? यसबारे केही सोचिएको देखिन्न।
अन्यत्र समाजमा पर्यटन उद्योग विकास हुनुको मूल कारण धेरै सार्वजनिक बिदा नभइ आम्दानी र घुमफिरका लागि खर्चने क्षमताको वृद्धि हो। कार्यालयको समयमा डटेर काम गर्ने कर्मचारीलाई आरामको दरकार पर्दछ र विदा तथा सुविधाका कारण उनीहरू लामोसमय घुमफिरका लागि निस्कन्छन्। तर, यहाँ त कुरा बिदाको मात्र छ, सुविधाको छैन।
पर्वविशेषसँग सम्बन्धित समुदाय, भूगोल वा आवश्यक परेकालाई मात्र विदा उपलब्ध गराउनु पर्नेमा अन्यलाई पनि विदा दिइने गलत परम्परा बसेको छ, जसलाई विकृति पनि मान्न सकिन्छ।
अर्को कुरा, हाम्रा प्रायः सार्वजनिक कार्यालयमा विभिन्न बहानामा आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गरिएको छ। तर, सेवाग्राहीलाई सेवा दिने समयमा तिनै कर्मचारी नभेटिने अवस्था छ। पहुँचको आधारमा कर्मचारी बिदामा बस्ने प्रवृत्ति पनि उत्तिकै छ। यस्तो अवस्थामा थप विदाको औचित्यमाथि अनेकौं प्रश्न गर्न सकिन्छ।
नेपाल विविध जातजाति, धर्म–संस्कृति तथा रीतिरिवाजको समाज हो। जसमा, एउटा समुदाय विशेषको पर्व वा सन्दर्भमा विदा दिएपछि अन्य सम्प्रदायले पनि विदाको माग गर्नु स्वभाविक हो। मागअनुसार पर्व विदा पनि थपिँदै गइरहेको पाइन्छ। पर्वविशेषसँग सम्बन्धित समुदाय, भूगोल वा आवश्यक परेकालाई मात्र विदा उपलब्ध गराउनु पर्नेमा अन्यलाई पनि विदा दिइने गलत परम्परा बसेको छ, जसलाई विकृति पनि मान्न सकिन्छ। जस्तो, इसाई धर्मावलम्बीको मुख्य चाड क्रिशमसमा गैर इसाईलाई बिदा दिनु आवश्यक छैन।
संस्कार, संस्कृति तथा चाडपर्वहरुको अध्ययन गर्ने हो भने सम्बन्धित समुुदायका कतिपय सदस्यलाई नै विदाको दरकार नभएको पनि देखिन्छ। सांस्कृतिक पर्वविशेषमा परिवारका सबै सदस्य उत्तिकै संलग्न हुनु नपर्ने पनि हुनसक्छ। नीति निर्माताहरुमा नेपाली संस्कृतिको प्रकृतिबारे पर्याप्त अध्ययन नहुँदा सोलोडोलो विदा दिने चलन छ, जुन प्रत्युत्पादक भइरहेको छ।
सांस्कृतिक चाडवाड तथा जात्रापर्वहरु बढी हुने काठमाडौंको नेवार समाजको प्रकृतिलाई समग्र नेपाली समाजको सांस्कृतिक जीवनसँग तादात्म्य गरेर बुझ्न सकिन्छ। नेवार समुदायमै पनि सबै उत्सव सबैसँग सम्बन्धित वा सरोकारजन्य हुँदैनन्।
नेपाली समाज नियाल्ने हो भने कुनै न कुनै सांस्कृतिक उत्सव नभएको दिन कहिल्यै हुँदैन। वाह्य जगतमा प्रचारप्रचार नभएका थुप्रै सांस्कृतिक पर्व पनि स्थान वा समुदाय विशेषमा मनाइरहेको हामी देख्न पाउँछौं। कुन संस्कृति कति महत्वपूर्ण भनेर मापन गर्ने आधार पनि छैन। अध्येताहरु यस्तो मापन र यसका आधारमा गरिने विभेदपूर्ण व्यवहारलाई घातक मान्दछन्।
यस्तो अवस्थामा सबैका नाममा, माग गरिएकै आधारमा सार्वजनिक विदा दिनु न व्यावहारिक हो न तर्कसंगत। यसले अव्यवस्था मात्रै उत्पन्न गराउँछ। बरु वर्षभर केही निश्चित दिनको विदा प्रत्याभूत गर्ने र आफूलाई चाहिने विदा त्यसैबाट मिलाउने व्यवस्था गरिनुपर्दछ। सार्वजनिक विदाका सन्दर्भमा राज्यले बृहत गराएर आवश्यक नीति तर्जुमा गर्नुपर्ने आवश्यक देखिन्छ।