नेकपा विभाजनको औपचारिक घोषणा पर्खिरहेको ७ पुस !
फुटेको घोषणा मात्र गर्न बाँकी रहेका नेकपाका दुवै समूहले मंगलबार फरक–फरक समय र स्थानमा केन्द्रीय कमिटी बैठक डाकेका छन्।
सम्पूर्ण गतिविधि दुई भिन्न पार्टीको भए पनि विभाजनको अन्तिम र औपचारिक घोषणा हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा मंगलबार दुवै समूहले फरक–फरक समयमा केन्द्रीय कमिटी वैठक डाकेका छन्। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले विहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको समूहले दिउँसो १ बजे बबरमहलस्थित कार्की व्याङ्केटमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
दाहाल–नेपाल समूहले आइतबारको स्थायी कमिटी बैठकबाटै केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो भने ओली समूहले सोमबार अपराह्न मात्र आफ्नो समूहको बैठक बोलाएको हो।
मंगलबारका ती दुवै बैठकपछि ३१ महीना अघि एकताबद्ध भएर ठूलो पार्टी बनेको नेकपा औपचारिक रूपमै दुई टुक्रा हुने लगभग निश्चित भएको छ। हिमालखबरसँगको कुराकानीमा दुवै समूहका नेताहरूले मंगलबार नै दुवै समूह औपचारिक रूपमा अलग्गिने बताए। ३१ महीना अघि, ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको थियो। तर, नेकपामा विभाजनको दृष्य भने यो एकीकरणभन्दा नितान्त फरक स्वरूपको हुनेछ।
एकीकरणअघि एमालेमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नेता एकीकरण पहिलेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्ने समूहमा हुनेछन्। तत्कालीन एमालेकै र हाल नेकपाको पहिलो पुस्तामा रहेका वामदेव गौतमले आफू विभाजनमा कतै नलाग्ने घोषणा गरेका छन्, तर मंगलबारसम्म उनले के गर्छन् भन्ने प्रष्ट छैन। ओलीसँग भने ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुव्वा गुरुङ्ग, किरण गुरुङ्गलगायतका नेतासँगै तत्कालीन माओवादीका लेखराज भट्ट हुनेछन्।
तत्कालीन माओवादीतर्फका रामबहादुर थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापालाई ओली समूहले आफ्नो समूहमा रहेको बताए पनि उनीहरू अहिलेसम्म ओलीको समूहले आयोजना गरेका सार्वजनिक भेलामा उपस्थित भएका छैनन्।
कारबाहीको तयारी
मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकबाट दुवै समूहले एक अर्कालाई कारबाहीको घोषणा गर्ने तयारी पनि गरेका छन्। दाहाल–नेपाल समूहले आइतबारको स्थायी कमिटी बैठकबाटै ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव मंगलबारको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।
दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ। दाहालले सोमबार काठमाडौंमा आयोजित आफ्नो समूहका सांसदहरूको भेलामा २०० जना सांसदहरू संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च जाने बताएका थिए। त्यसक्रममा उनले मंगलबारको बैठकबाट ओलीमाथि कारबाही गर्ने र बुधबार संसदीय दलको नेता चयन गर्नेसमेत बताए।
त्यसैगरी ओली समूहले दाहाललाई पार्टी र सरकारविरोधी गतिविधि गरेको आरोपमा कारबाही गर्ने तयारी गरेको छ। दाहालले पार्टी एकता भंग गरेको जानकारी निर्वाचन आयोगलाई मंगलबार नै गराउने तयारी समेत ओली पक्षको छ। ओलीनिकट नेताहरूले त्यसको सबै तारतम्य मिलिसकेको बताए।
अधिवक्ता टिकाराम भट्टराईका अनुसार नेकपाका दुवै समूह अब आफू नै आधिकारिक भएको दाबीसहित वैधानिकताका लागि निर्वाचन आयोगमा जाने छन्।
राजनीतिक दल सम्बन्धी ऐन २०७४ ले दलको नाम, छाप, झण्डा वा चुनाव चिन्ह सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिका ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
तर, नेकपाको विषयमा के निर्णय हुन्छ भन्ने आकलन गर्न सहज छैन। किनभने नेकपाको विधानमा दुई अध्यक्षबाट निर्णय हुने व्यवस्था रहेकाले यो विषय थप पेचिलो बन्ने देखिन्छ।