रू. ४४ लाख भन्दा बढी ठगी गर्ने युवक पक्राउ
सर्वसाधारण किसानलाई लाखौँ ठगी गर्ने एकजना युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्लाका विभिन्न गाउँका २३ जना किसानबाट ४४ लाख ७८ हजार ५०० रूपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले वृन्दावन नगरपालिका–७ हर्षाहाका २८ वर्षीय अनिलकुमार पटेललाई पक्राउ गरेको हो।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको ओम्नी अटोमोबाइल प्रालिको ट्याक्टर शोरूमबाट किस्ताबन्दीमा ट्याक्टर खरीद गरेका विभिन्न गाउँका २३ जना किसानबाट किस्ता वापतको रकम उठाएर पटेलले कम्पनीमा नबुझाएको पाइएको छ।
कम्पनीले किसानलाई रकम बुझाउन ताकेता गरेपछि किसानहरू ठगिएको चाल पाएका थिए। पटेलबाट ठगिएका किसानहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएका छन्।
पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट जिल्ला अदालतमा पेश गरेको छ। अदालतबाट पनि सात दिनको म्याद थप गरी पटेललाई न्यायिक हिरासतमा राखी ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।