दाहाल-नेपाल पक्षीय सांसदको भेला शुरू
विघटित प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको भेला बानेश्वरमा शुरू भएको छ।
भेलामा दाहाल र नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। शुरूदेखि दाहाल नेपालको पक्षमा देखिंदै आएका बामदेव गौतम भने भेलामा सहभागी छैनन्।
भेलामा विघटित प्रतिनिधि सभाका सांसद, र राष्ट्रिय सभाका सांसद सहभागी छन्। आज विहान प्रधानमन्त्री ओलीले राखेको भेलामा समेत नगएका गृहमन्त्री रामबहादुर थापा, पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी र हरिबोल गजुरेल पनि बानेश्वरको भेलामा सहभागी छैनन्।
भेलाअघि सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो। आज विहान मात्र प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूको भेला बालुवाटारमा राखेका थिए।
नेकपाभित्र बढ्दै गएको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभाको विघटन गरेकी थिइन्। पार्टी विभाजनको औपचारिक घोषणा हुन बाँकी रहेको नेकपामा अहिले दुवै पक्षले आ-आफ्नो रणनीति तय गर्न भेलाको आयोजना गरेका छन्।