मजदुरलाई पाँच वर्षसम्म बेतलवी बिदामा पठाउँदै पाँचतारे होटल
बन्दाबन्दीसँगै पर्यटक नआउँदा १० महीनादेखि थलिएका तारे होटलहरूले कर्मचारीलाई पाँच वर्षसम्म बेतलवी बिदामा राख्ने सूचना जारी गर्न थालेका छन्। कर्मचारीको उचित व्यवस्थापनका लागि होटल संघ र मजदुर युनियनबीच वार्ता शुरू भएको छ।
२८३ कोठा रहेको सोल्टी होटलले अब १०० कोठा मात्रै चलाउने गरी सूचना जारी गरेको छ। त्यसअनुसार काम नहुने कर्मचारीहरूलाई सन् २०२१ को शुरूदेखि कम्तीमा एक वर्षसम्म बेतलवी बिदामा पठाउने उसको सूचनामा उल्लेख छ। यस्तो बेतलवी बिदा पाँच वर्षसम्म लम्बाउन सकिने पनि सूचनामा उल्लेख गरेको छ।
अझ हायात रेजेन्सीले त सन् २०२१ देखि कम्तीमा दुई वर्ष र बढीमा पाँच वर्षसम्म कर्मचारीलाई बेतलवी बिदा दिने तयारी गरेको छ। यसले गर्दा मजदुरहरू समस्यामा पर्ने निश्चित छ। तर, बन्दाबन्दीपछि खुलेका होटलमा पनि पाहुना नहुँदा सञ्चालन खर्च पनि उठेको छैन।
मजदुर व्यवस्थापनको पिरलोका कारण केही होटल सञ्चालन गर्ने हिम्मत गरेका छैनन्। सञ्चालनमा आएका होटल पनि कर्मचारीलाई स्वेच्छिक अवकास थमाएर, कोठा क्षमता घटाएर, आधाभन्दा कम कर्मचारी राख्नेसहितको विकल्प अगाडि सार्दै पाहुनाको पर्खाइमा छन्।
होटल संघ नेपाल (हान) र तीन वटा मजदुर संघ (अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ)बीच यसअघि बन्द रहेको अवस्थामा मजदुरलाई १० महीनाको न्युनतम तलब दिने सहमति भएको थियो। सहमति अनुसार दुई तारेदेखि पाँचतारेसम्मका होटलमा कार्यरत मजदुरलाई चैत २०७६ देखि १६ पुस २०७७ सम्म न्युनतम तलब दिनुपर्नेछ।
२८ असार २०७७ मा भएको उक्त सहमति सकिनै लागेकोले पुनः नयाँ योजना बनाएर जान आवश्यक छलफल शुरू भएको अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे बताउँछन्। उनी भन्छन्, ‘‘औपचारिक र अनौपचारिक छलफल शुरू भएको छ। अबको एक साताभित्रै नयाँ ढंगबाट होटल र मजदुरबीच सहमति गरेर जानुपर्ने भएकोले सोही अनुसारको अजेण्डामा छफलल शुरू भएको छ। औपचरिक रूपमा निर्णय हुन भने बाँकी छ।’’
२ पुसदेखि हान र मजदुरबीच आपसी छलफल शुरू भएको छ। असारमा भएको सहमति अनुसार तारे होटलका मजदुरले घर बस्दाको अवधिमा पनि रू.४ हजार ३०० देखि १० हजारसम्म पारिश्रमिक पाएका छन्। यो सहमति सकिन लाग्दा मजदुर र होटल संघबीच नयाँ सहमतिको प्रयास जारी छ।
२ पुसदेखि हान र मजदुरबीच आपसी छलफल शुरू भएको छ। असारमा भएको सहमति अनुसार तारे होटलका मजदुरले घर बस्दाको अवधिमा पनि रू.४ हजार ३०० देखि १० हजारसम्म पारिश्रमिक पाएका छन्। यो सहमति सकिन लाग्दा मजदुर र होटल संघबीच नयाँ सहमतिको प्रयास जारी छ।
नयाँ सहमतिमा होटल मजदुरलाई काम गरेको दिनको मात्रै पैसा दिने र काम नगर्दा नदिने (नो वर्क, नो पे) रणनीतिमा होटल व्यवसायी छन्। मजदुर युनियनले भने अहिले पाइरहेकै न्युनतम पारिश्रमिकलाई अझै एक वर्ष बढाउनुपर्ने गरी लबिइङ गरिरहेको पाण्डे बताउँछन्।
पर्यटक आउने वातावरण अझै बनिनसकेका कारण सन् २०२१ सम्मलाई पुनः नयाँ सहमति गरेर जानुपर्ने पाण्डे बताउँछन्। पाण्डेका अनुसार कुनै पनि मजदुर ननिकाल्ने, ५० प्रतिशतलाई आलोपालो काम लगाउने र पारिश्रमिक पनि अबको एक वर्ष ५० प्रतिशत नै दिनुपर्ने माग मजदुर संगठले अगाडि सारेका छन्।
नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर सञ्चालकले ‘नो वर्क, नो पे’ लागू गर्ने माग गरेको भए पनि यसलाई मान्न आफूँहरू तयार नरहेको बताए। कुँवर भन्छन्, ‘‘कोभिडले पारेको समस्या एउटा व्यक्ति, तह र क्षेत्रलाई मात्रै नभएर सबैमा छ। यो बेला जसरी बन्दाबन्दीपछिको नौ महीना आपसी सहमतिबाटै जान सकियो अबको केही समय पनि यसैगरी जानुपर्छ।’’
केही ठूला होटलले कर्मचारी कटौती भन्दै स्वेच्छिक अवकास योजनासमेत ल्याएका छन्। यस्तो योजना स्वीकार गर्नेलाई आवश्यक मापदण्ड तोक्ने र निश्चित सेवा सुविधा दिएर बिदा दिने गरेका छन्। धेरै मजदुर हुने र सञ्चालन खर्च पनि बढी हुने पाँचतारे होटलले यो योजना ल्याएका हुन्।
क्षमता घटाएर होटल सञ्चालन
महामारीको असर न्यूनीकरण भइनसेको र तत्कालै विदेशी पर्यटक आउने सम्भावना कम रहेको हुँदा होटलहरूले थोरै कर्मचारी र कम कोठामा सञ्चालनको योजना आगाडि सारेका छन्। सञ्चालन खर्च बढेको भन्दै मजदुर निकाल्न पनि पाँचतारे होटलले धमाधम क्षमता घटाएका हुन्।
यसरी क्षमता घटाएर सञ्चालन गर्न कर्मचारीलाई सूचित गर्नेमा सोल्टी, हायात, अन्नपूर्ण, र्याडिसन, एभरेष्टसहितका होटल छन्। यस्तो योजनाबाट ३०० कोठा भएको होटलले पनि १०० वटा मात्रै सञ्चालन गर्ने योजना बनाएका छन्। उक्त योजनाबारे हायात र सोल्टी होटलले मंसीर पहिलो साता सूचना जारी गरेर कर्मचारीलाई जानकारी दिइसकेका छन्। यी होटलले सन् २०२१ देखि क्षमता घटनाउने जानकारी मजदुरलाई दिएका हुन्।
पाँचतारे होटल अन्नपूर्ण अहिलेसम्म सञ्चालनमा आएको छैन। होटलको एक तिहाइ मात्रै कोठा सञ्चालन गर्ने र बाँकी बन्द गर्ने जानकारी मजदुरलाई दिन थालेको छ। मजदुर समस्या समाधानकाे विकल्पका रूपमा हाेटल अन्नपूर्णले तत्काल सञ्चालन नगर्नेसम्मकाे जानकारी गराएकाे छ। अर्को पाँचतारे होटल सोल्टीले पनि महामारीपछि होटलमा रहेका ५५० कर्मचारीमध्ये करीब १५० जनालाई स्वेच्छिक अवकास दिइसकेको छ।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहले सञ्चालक र मजदुरलाई मान्य हुने सहमति गरिनुपर्ने बताउँछन्। शाह भन्छन्, ‘‘समस्या सबैलाई अवगत छ। मजदुर बाँच्नुपर्ने र होटल रहनुपर्ने तर्कबाट आवश्य छलफल शुरू भएको छ। दुवै पक्षलाई मान्य हुने गरी नयाँ सहमतिको प्रयास भइरहेका छ।’’
सोल्टी होटलको आधारिक ट्रेड युनियनका अध्यक्ष सुशील राजभण्डारी विदेशी पर्यटकमै निर्भर हुने स्तरीय पाँचतारे होटलले नयाँ विकल्पमा जाने सूचना दिएको बताउँछन्। अहिले ४०/५० जनाको समूहमा सानोतिनो पार्टी भए पनि पाहुना आगमन ठप्प हुँदा आम्दानी सुकेको उनी बताउँछन्।
महामारी शुरू भएसँगै पाहुना नआएका कारण चैत पहिलो साताबाटै औपचारिक रूपमै बन्द गरेको हायात रिजेन्सी खुले पनि पाहुना छैनन्। यो होटलका २८० कोठा खाली छन्। होटलमा पाहुना नै नआउने भएका कारण यसले पनि १०० वटा मात्रै कोठा सञ्चालन गर्ने तयारी गरेको छ। अधिकांश मजदुरलाई पाँच वर्ष बेतलवी बिदामा राख्ने निर्णय व्यवस्थापनबाट भएको भन्दै हायातका मानव संसाधन विभागका निर्देशक सर्ज रन्जितले कर्मचारीलाई सूचित गराइसकेका छन्।
होटल ८ चैत २०७६ देखि नै पूर्णरूपमा बन्द रहेको र अझै खुला हुने तथा सामान्य अवस्थामा आउने संभावना नरहेको भन्दै कर्मचारीलाई स्वेच्छिक अवकास लिन दबाब आइरहेको हायात होटलको मजदुर संगठले जानकारी दिएको छ। अन्नपूर्ण, हायात, एभरेष्ट, र्याडिसनसहितका होटलले पनि सन् २०२१ मजदुरलाई बिदामा राख्ने तयारी गरिरहेका छन्।
दुवै पक्षलाई मान्य हुने सहमति गरिने
होटल संघ नेपालका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहले सञ्चालक र मजदुरलाई मान्य हुने सहमति गरिनुपर्ने बताउँछन्। शाह भन्छन्, ‘‘समस्या सबैलाई अवगत छ। मजदुर बाँच्नुपर्ने र होटल रहनुपर्ने तर्कबाट आवश्य छलफल शुरू भएको छ। दुवै पक्षलाई मान्य हुने गरी नयाँ सहमतिको प्रयास भइरहेका छ।’’
१६ पुसदेखि नै नयाँ सहमतिमा जानुपर्ने भएकोले एक साताभित्रै आवश्यक टुंगोमा पुगिने शाह बताउँछन्। सञ्चालक र मजदुरको हित हुने गरी उपयुक्त विकल्पमा जान आवश्यक छलफल भइरहेको हानका पदाधिकारीको भनाइ छ।