विघटित प्रतिनिधि सभामा दाहाल-नेपाल समूहका सांसदको हस्ताक्षर संकलन शुरू, आजै सर्वोच्च जाने तयारी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन शुरू गरिएको छ।
विघटित प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा जाने प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको हो।
दाहाल र नेपाल समूहमा रहेका सांसदहरूको हस्ताक्षर संकलनपछि प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखेर आजै सर्वोच्च अदालतमा जाने पाण्डेले बताए।
नेकपाभित्र बढ्दै गएको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभाको विघटन गरेकी थिइन्। आज बिहानै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफू निकटका सांसदहरूसँग छलफल गरेका थिए।