ओलीले गुट भेलामा भने– पाइला पाइलामा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेँ
प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हरेक काममा अवरोध गरिएको दाबी गर्दै अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो गुटमा रहेका विघटित प्रतिनिधिसभाका सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको दाबी गरे। उनले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु सरकारका काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको बताए।
“हामी एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं। तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो”, ओलीले गुट भेलामा भने, “संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प¥यो।”
जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको आरोपसमेत लगाए। “अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ” ओलीको दाबी थियो, “जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो।”
ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित भई चुनावी तयारी गर्न निर्देशनसमेत दिएका छन्।