विना तामाङले जितिन् बाह्रखरी कथा प्रतियोगिताको उपाधि
बाह्रखरी बुक्सले आयोजना गरेको ‘खुला कथा प्रतियोगिता’को उपाधि विना थिङ तामाङले जितेकी छन् ।
उनको ‘ब्याण्ड भाले’ शीर्षकको कथा प्रथम भएको हो ।
प्रतियोगिताको द्वितीय उपाधि गोविन्द वियोगीको कथा ‘टाउको’ले प्राप्त गरेको छ । त्यस्तै सुमित्रा न्यौपानेको कथा ‘बार्दली’ले तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगीमध्ये प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार नगदका साथै प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको लागि ९ सय कथा प्राप्त भएको आयोजक ब्राहखरी बुक्सले जनाएको छ ।
जसमध्ये उत्कृष्ट २५ कथा समेटेर ‘उत्कृष्ट कथा २०७६’ कथासंग्रह प्रकाशन गरिएको छ । उक्त कथासंग्रह पनि आज विमोचन गरियो ।
उत्कृष्ट कथाकार बन्न सफल २२ जना कथाकारले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
ब्राहखरी बुक्सले आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन कमिटी गठन गरेको थियो । आन्तरिकमा प्रतीक प्रधान, राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल, अक्षर काका रहेका थिए भने बाह्यमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा र नयनराज पाण्डे थिए ।