बेलायतमा कोरोनाको नयाँ स्वरुप, युरोपियन देशहरुले धमाधम लगाउन थाले यात्रा प्रतिबन्ध
कोरोनाभाइरस संक्रमणको नयाँ स्वरुप देखिएको र अनियन्त्रित फैलन थालेको भन्दै आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, बेल्जियम लगायत युरोपियन दशहरुले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन्।
६ वटै देशले आफ्ना सबै बेलायत उडान रोकिसकेकका छन्। यात्रा प्रतिबन्धका लागि सबै देशले फरक मापदण्ड बनाएका छन् र यो छोटो अवधिका लागि मात्र भएको जनाइएको छ। तर, संक्रमणको जोखिम अनुसार प्रतिबन्ध लम्बिन सक्नेछ। सोमबार बिहान बस्ने युरोपियन युनियन (ईयू) बैठकले यसबारे छलफल र समन्वय गर्ने छ।
कोरोनाको संक्रमण लन्डन र दक्षिण–पूर्वी बेलायतमा तीव्र गतिले फैलिरहेको छ। आइतबार बेलायतमा १३ हजार नयाँ संक्रमित फेला परेका थिए। गएको १४ डिसेम्बरदेखि कडा बन्दाबन्दी गरिए पनि संक्रमण बढिरहेको छ। प्रधानमन्त्री बोरिस जोनसनले शनिबार संक्रमण बढी फैलिरहेका क्षेत्रमा नयाँ नियम लागू गरेका छन्।
बेलायतका उच्च स्वास्थ्य अधिकारीहरुले कोरोनाको नयाँ स्वरुप बढी जोखिमपूर्ण रहेको प्रमाण फेला परिनसकेको जनाएका छन्। यो भाइरसले विकसित भइसकेका खोपलाई फरक व्यवहार गर्ने पनि प्रमाणित नभएको जनाएका छन्। तर, यो ७० प्रतिशतसम्म सर्न सक्ने जनाइएको छ। त्यहाँका स्वास्थ्य सचिव म्याट हानोकले केही समयअघि कोरोना अनियन्त्रित फैलिए पनि अहिले नियन्त्रणमा आइसकेको दाबी गरेका छन्।
कोरोनाको नयाँ स्वरुपको जोखिमका कारण नेदरल्यान्ड्सले शनिबार नै बेलायतबाट आउने यात्रुबाहक जहाजहरुलाई १ जनवरीसम्मका लागि प्रतिबन्ध लगाएको छ। फ्रान्सले आइतबार मध्यरातदेखि ४८ घन्टाका लागि बेलायतसँगको सबै यातायात सम्बन्ध स्थगित गरेको छ। यी दुई देशबीच दैनिक हजारौँ लरीहरु आवातजावत गर्छन्।
इटालीले भने ६ जनवरीसम्मका लागि बेलायतबाट आउने जहाजलाई प्रतिबन्ध लगाएको छ। अष्ट्रियाले पनि तत्काललाई बेलायतबाट आउने सबै उडान बन्द गरेको छ। बुल्गेरियाले ३१ जनवरीसम्मका लागि यस्तो प्रतिबन्ध लगाएको छ।
आइतबार नै आयरल्याण्डले पनि बेलायतबाट आउने सबै उडानलाई ४८ घन्टाका लागि रोकेको छ। हरेक वर्ष डिसेम्बर तेस्रो साता बेलायतबाट आयरल्याण्ड जाने यात्रु सबैभन्दा धेरै हुने गर्छन्। क्रिस्मस र नयाँ वर्ष मनाउन यस्तो यात्रा हुने गर्छ।
जर्मनीले आइतबार मध्यरातिदेखि बेलायतबाट आउने कुनै पनि जहाजलाई अवतरणको अनुमति नदिने जनाएको छ। तर, कार्गो विमानलाई भने नरोक्ने जनाएको छ। बेल्जियमले भने सबै उडान र रेलहरुलाई रोकेको छ।