कांग्रेसले भन्यो- ‘प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम अधिनायकवादी’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी वैशाखमा निर्वाचन गर्ने राष्ट्रपतिको घोषणालाई अधिनायकवादी भनेको छ। कांग्रेसले यसलाई सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण काम समेत भनेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने बताएको छ।
विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको कांग्रेसको ठहर छ।
पछिल्ला घटनाक्रमले कम्युनिष्ट पार्टी, सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम, जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको स्पष्ट भएको कांग्रेसको भनाइ छ।
सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरीत श्रृंखलाको निरन्तरता भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरूसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने उल्लेख छ।