प्रभु लाइफको आईपीओमा अहिलेसम्मकै धेरै आवेदन, मेरो शेयरबाट मात्रै नौ लाखले शेयर भरे
सिआस्वा प्रणालीमार्फत आवेदन दिन शुरू भएपनि ३ वर्षमा सबैभन्दा बढी आवेदन प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा परेको छ। मेरो शेयरबाट मात्रै पाँच दिनमा कुल आवेदनमध्ये ८३ प्रतिशत आवेदन परेको छ।
प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)मा अहिलेसम्मकै धेरै आवेदन परेको छ। २९ मंसीरदेखि २ पुससम्म सिआस्वा प्रणालीमार्फत् सर्वसाधारणको लागि निष्कासन भएको उक्त इन्स्योरेन्सको आईपीओमा १० लाख ८२ हजार ११९ वटा आवेदन परेको छ।
प्रभु लाइफले ५४ लाख कित्ता शेयरका लागि माग गरेको आईपीओमा २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको खरीदको लागि आवेदन परेको छ। आवेदन संख्याका आधारमा उक्त संख्या हालसम्मको उच्च रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।
आवदेन परेकामध्ये ९ लाख ५ हजार १७२ वटा आवदेन मेरो शेयरमार्फत परेको हो। यो कुल आवेदनमध्ये ८३.६४ प्रतिशत मेरो शेयरबाट आवदेन भएको हाे।
सिआस्वा प्रणालीमार्फत् शेयर निष्कासन हुन थालेपछि हालसम्म १९० वटा सार्वजनिक निष्कासन भइसकेको छ। तीन वर्ष अगाडि पहिलोपटक सिआस्वा प्रणालीबाट शेयर निष्कासन हुँदा जम्मा १ लाख ८६ हजार ०३८ वटा मात्रै आवेदन परेको थियो। हाल यस्तो आवेदन करीब ६ गुणाले बढेको पनि सीडीएसले जानकारी दिएको छ।
मेरो शेयर सफ्टवेयरमार्फत् शेयर बुझाउन पाइने भएपछि आईपीओको आवेदन सहज र सरल भएको हो। यो व्यवस्थापछि शेयरका आवेदकले लाइनमा बस्नु नपर्ने र २४ सै घण्टा आवेदन दिन पाइने व्यवस्था लागू भएको छ।
पूँजी बजारको विकासका लागि सार्वजकि निष्कासनमा लगानीकर्ताको आकर्षण बढ्नु र मेरो शेयरको प्रयोगबाट हुने सहज व्यवस्थालाई सीडीएसले महत्वपूर्ण उपलब्धि ठानेको छ।
यो कम्पनीको शेयर आवेदनमध्ये आधा आवेदकले शेयर नपाउने र आधाले मात्रै पाउने भएका छन्। शेयरको माग भन्दा बढीको आवदेन परेका कारण ५ लाख अवेदकको हात खाली हुने भएको प्रभु लाइफले जानकारी दिएको छ।