ओलीविरुद्धको अविश्वासको प्रस्तावमा छ दाहाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नाम प्रस्ताव गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
नेकपाका ९० जना सांसदले आइतबार बिहान साढे १० बजे संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
यद्यपि, उक्त प्रस्ताव दर्ता हुनु अघि नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक राखी राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरे। प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा नेकपाका कार्यकारी दाहाललाई नयाँ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको थियो।
संविधानको धारा १०० (४) मा प्रतिनिधि सभामा तत्काल कायम रहेकामध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीप्रति सदनको विश्वास छैन भनि अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ।
त्यसैगरी धारा १०० (५) मा त्यसरी अविश्वासको प्रस्ताव दर्ता गर्दा नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको समेत नाम उल्लेख गरेको हुनुपर्ने प्रावधान छ।
यही व्यवस्थाबमोजिम नेकपाका सांसदहरूले आफ्नै पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीप्रति अविश्वासको प्रस्ताव दर्ता गर्दा कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन्।