प्रतिनिधि सभा विघटन गर्ने निर्णयमा असहमति जनाउँदै सात मन्त्रीद्वारा राजीनामा
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि मन्त्रिपरिषद्का सात जना सदस्यले राजीनामा दिएका छन्। सत्ताारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिएका हुन्।
सिंहदरबारमा पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भूसाल, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगारमन्त्री रामेश्वरराय यादव र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले राजीनामा दिएका हुन्।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा आज बिहानको मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा आफ्रहरूले असहमति जनाएको तथा त्यसलाई रोक्नका लागि पहल गरेको समेत उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै राजीनामा गरेका छौं।’
पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई गलत कदम सच्याउन दबाब दिन राजीनामा दिएको बताए।
पूर्वमाओवादी समूहको नेतृत्व गर्दै सरकारमा गएका गृहमन्त्री रामबहादुर थापा र पूर्वमाओवादी समूहकै कोटाबाट उद्योगमन्त्री बनेका लेखराज भट्टले भने राजीनाका विषयमा कुनै निर्णय गरिसकेका छैनन्।