जनप्रतिनिधिलाई स्थानीयले कार्यालयमै थुने
विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीयले ताला लगाएर थुनेका छन् ।
शुक्रबार बिहान १० बजेदेखि वडा कार्यालयमा ताला लगाएर उनीहरूलाई थुनिएको हो । वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा बनाएका कच्ची घर बिहीबार अपरान्ह महानगरपालिकाको डोजरले भत्काएको विरोधमा उनीहरूलाई स्थानीयले थुनेका हुन् ।
वडाभरिका सुकुम्बासी भेला भएर कार्यालयमा तालाबन्दी गर्नुका साथै जनप्रतिनिधिलाई थुनेर राखेका छन् ।
भत्काएका घरको क्षतिपूर्ति र आवासको व्यवस्थाको ग्यारेन्टी नभएसम्म तालाबन्दी जारी रहने स्थानीयको भनाइ छ । जनप्रतिनिधिलाई स्थानीयले थुनेको १ घण्टा बितेपछि पुगेको प्रहरीले स्थानीयलाई सम्झाउने प्रयास गरेपनि ताला खोल्न सकेको छैन ।
स्थानीयबासीले महानगरका मेयर भिम पराजुली र प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । वडाध्यक्ष कामतले भने महानगरले आफूलाई जानकारी नै नदिई सुकुम्बासीका घर भत्काएको बताए ।
“बिहीबार ५ बजे नगर रक्षकले सुकुम्बासी बस्ती भत्काउन आएको जानकारी दिए”, कामतले भने, “डोजर लगाउन थालेपछि मलाई जानकारी दिइयो ।” स्थानीयबासीले भने पूर्व सूचना नै नदिई घर भत्काएकाले महानगरपालिका विरुद्ध अदालतमा मुद्दा दर्ता गरिने बताएका छन् ।
यता मोरङ प्रहरीले सकेसम्म सम्झाएर ताला खोल्न लगाइने नमाने बल प्रयोग गरेर भए पनि जनप्रतिनिधिलाई बाहिर निकालिने बताएको छ ।