राजनीतिक अनिश्चयको छायाँ शेयर बजारमा, नेप्से एकै दिन झण्डै १०० अंकले घट्यो
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेसँगै शेयर बजारमा डरलाग्दो पहिरो गएको छ। राजनीतिक अनिश्चय बढेसँगै लगानीकर्ताहरू निराश हुँदा आइतबार बजार ४.२५ प्रतिशतले घटेको हो।
कारोबार भएका नौ वटाबाहेक सबै कम्पनीका शेयरको मूल्य घट्दा बजार ९६.८८ अंकले घटेर १ हजार ९३५ विन्दुमा ओर्लिएको छ।
सबैभन्दा धेरै अन्य समूह ८.३९, जलविद्युत ६.६८, जीवन बीमा ५.०५, व्यापार ४.२८ प्रतिशतले घटेका छन्।
कारोबार भएकामध्ये ८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। बजारमा गहिरो धक्का पुग्दा पनि युनाइटेड आइडीआई मार्दी जलविद्युत, माहुली सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको शेयर मूल्य बढेको छ।
सबैभन्दा धेरै सूर्योदय लघुवित्त, नेरुढा लघुवित्त, स्वाबलम्वन लघुवित्त, छ्याङदी लघुविद्युत, माथिल्लो तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले घटेको छ।
१६५ कम्पनीको शेयर मूल्य घटेको छ। संसद विघटनको सिफारिससँगै राजनीतिक अनिश्चय आउने र यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने लगानीकर्ताको मनोविज्ञानका कारण बजार ओरालो झरेको हो।
बजार नकारात्मक भएपनि रू. ९ अर्ब ५ करोड मूल्य बराबरका शेयरको किनबेच भएको छ।