प्रधानमन्त्रीको कदम नेकपाको स्थायी कमिटीमा ‘विशेष’ अजेण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस नेपाल कम्युनष्टि पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ‘विशेष’ अजेण्डा बन्ने भएको छ।
पूर्वनिर्धारित तालिका अनुसार नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेलाई तय भए पनि उत्पन्न पछिल्लो परिस्थितिका कारण केही ढिला बस्ने भएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “यो कदम निरंकुश र परिवर्तनविरोधी छ। यो कार्यान्वयन हुँदैन। आजै बस्ने पार्टीको स्थायी कमिटी बैठकमा यसलाई विशेष अजेण्डा बनाएर छलफल गर्छौं। त्यहीँबाट आवश्यक निर्णय हुन्छ।” उनका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ।
उनले प्रधानमन्त्रीको ‘गैरसंवैधानिक’ कदमलाई राष्ट्रपतिले सदर नगर्ने विश्वास पनि व्यक्ति गरे। “राष्ट्रपति संविधान संरक्षक पनि हो। उहाँले यस्ता गैरसंवैधानिक सिफासिरस स्वीकृत गर्न मिल्दैन”, श्रेष्ठले भने।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराएका थिए। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति कार्यालय पुगेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय गरिसकेकी छैनन्।
नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्टपतिसमक्ष गरेको सिफारिस र त्यसपछि पार्टीले चाल्ने कदमका विषयमा बैठकमा निर्णय हुने पाण्डेले बताए। “बैठकबाट निर्णय हुन्छ। अहिले हामी छलफलमै छौं,” उनले भने।
आजको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री ओलीलाई कारबाहीको निर्णय गर्न सक्ने सम्भावना रहेको छ।
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले नेकपाको झण्डै दुई तिहाई बहुमत प्राप्त प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि सर्वत्र आलोचना भइरहेको छ।