प्रधानमन्त्रीको कदमपछि शेयर बजारमा निराशा
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै शेयर बजार ओरालो दिशामा गएको छ। राजनीतिक अनिश्चय बढेसँगै लगानीकर्ताहरू निराश हुँदा बजार घटेको हो।
१ बजेसम्ममा शेयर बजार परिसूचक (नेप्से) ४६ अंकले घटेको छ। बजार खुलेलगत्तै बजार ७० अंकसम्मले तल ओर्लिएको थियो।
उत्पादनमूलक समूहबाट सबै समूहका उपसूचक नकारात्मक भएका छन्। सबैभन्दा धेरै अन्य समूह ४.०१ र जलविद्युत ३.२६ प्रतिशतले घटेका छन्।
कारोबार भएकामध्ये १३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। १५५ कम्पनीको शेयर मूल्य घटेको छ।
संसद विघटनको सिफारिससँगै राजनीतिक अनिश्चय आउने र यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने लगानीकर्ताको मनोविज्ञानका कारण बजार ओरालो झरेको हो।