प्रतिनिधि सभा विघटनको सिफारिसपछि कांग्रेसको आकस्मिक बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।
कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार कांग्रेस पदाधिकारीको बैठक दिउसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा राखिएको छ।
यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने जनाएका छन्। प्रवक्ता शर्माले जननिर्वाचित संसदलाई यसरी विघटन गर्दा प्रमुख प्रतिपक्ष दल हेरेर नबस्ने र अन्य दलहरुलाई पनि साथ लिएर प्रतिवाद गर्ने बताएका छन्।
“संविधानमा लेखिएको भन्दैमा सबै निर्णय संवैधानिक हुँदैनन्”, उनले भने, “यो असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद हो, यसको कडा र सशक्त ढंगले राजनीतिक प्रतिवाद गर्छौं।”