प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक, राष्ट्रपतिले स्वीकृत गर्न हुँदैनः शेखर कोइराला
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भएको भन्दै त्यसलाई स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।
कांग्रेस नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अत्यन्त गैरजिम्मेवारपूर्ण समेत रहेको बताएका छन्। “संसद विघटनको सिफारिस असंवैधानिक मात्र होइन, अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ”, कोइरालाले ट्वीटरमा लेखेका छन्, “राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नुहुन्न।”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटबीच आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए।