मेसीले पेलेको कीर्तिमान बराबरी गरेको खेलमा बार्सिलोना रोकियो
ला लिगाअन्तर्गत गए राति भएको खेलमा भ्यालेन्सियाविरुद्ध गोल गर्दै स्टार फुटबलर लियोनल मेस्सीले एउटै क्लबबाट ६४३ गोल गर्ने पेलेको कीर्तिमानीको बराबरी गरेका छन्।
उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै हेड गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका थिए। पेनाल्टी प्रहार गरेको बललाई गोलकिपर जोमे डोमेनिकले मैदानतिरै फर्काइदिएका थिए। तर, भ्यालेन्सियाका खेलाडीको खुट्टामा लागेर आकासिँदै गोलपोष्टतिर आएको बललाई उनले हेड गरेर गोलमा परिणत गरे।
ला लिगामा भने बार्साबाट ४८९औँ खेल खेलेका मेसीको यो ४५०औँ गोल हो। पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिलियन क्लब सान्तोषबाट खेल्दा समग्र खेलमा ६४३ गोल गरेका थिए। मेस्सीले उक्त कीर्तिमान बराबरी गरे पनि खुलेर खुसी मनाउन पाएनन्। बार्साले घरेलु मैदान क्याम्प नोउमा भ्यालेन्सियासँग बराबरीमा चित्त बुझाएको छ।
भ्यालेन्सियाले १३औँ मिनेटमा नै मौक्टार डियाखाबीको गोलबाट अग्रता लिएको थियो। मेस्सीको गोलबाट बार्सा खेलमा फर्किएको थियो। दोस्रो हाफको ५२औँ मिनेटमा गोल गर्दै रोनाल्ड अरौजोले बार्सालाई अघि बढाएका थिए। तर, ६९औँ मिनेटमा माक्सिमिलिआनो गोमेजले गोल गरेपछि बार्सा रोकियो।
बार्सा १३ खेलबाट २१ अंकसहित पाचौँ स्थानमा छ। भ्यालेन्सिया भने १४ खेलमा १५ अंकसहित १२औँ स्थानमा छ।
ला लिगाकै यसअघि भएको खेलमा इल्चेलाई ३-१ गोलले पराजित गर्दै एथ्लेटिको मड्रिडले रियल सोसिडाड र रियल मड्रिडसँग स्पष्ट तीन अंकको अग्रता बनाएको छ। १२ खेलबाट एथ्लेटिकोको २९ अंक पुगेको छ। १४ खेल खेलेको सोसिडाड र १३ खेल खेलेको रियल मड्रिडको २६ अंक छ।
एथ्लेटिकोको जितमा लुइस सुआरेजले दुई गोल गरे। एक गोल डिएगो कोष्टाले पेनाल्टीबाट गरे। सुआरेज यसै सिजन बार्साबाट एथ्लेटिको गएका हुन्।