एक ‘इङ्गलिस जेन्टलमेन’
‘इङ्गलिस जेन्टलमेन’ सदृश्य एउटा हातमा उहाँको सदैव छाता रहन्छ घामपानीबाट जोगिनलाई र परेको बेला टेक्ने लौरो बनाउनलाई अनि अर्को हातमा किताब र पत्रपत्रिकाको पुलिन्दा। व्यसन हो उहाँको पढ्ने बानी।
‘कका’ भन्ने साइनो लाएर बोलाउने गर्छन् मेरा भाइबहिनीहरू उहाँलाई। कका वस्तुतः काकाकै नेवार समुदायमा प्रचलित कथ्य रूप हो। केटाकेटी अवस्थादेखि नै हामी सबै दाजुभाइहरूले उहाँलाई हाम्रो घरमा देख्दै भेट्दै आएका हौं र उहाँहेरि हाम्रा बा उमेरमा जेठा हुनुहुन्थ्यो। त्यस अर्थमा उहाँलाई त्यस साइनोले बोलाउनु स्वाभाविक र व्यवहारसम्मत हो। तर, मेरा लागि भने उहाँ सधैं ‘कृष्ण सर’ रहँदै आउनुभएको छ। होश सम्हालेदेखि नै मैले उहाँलाई गर्ने सम्बोधन त्यही हो र त्यही नै रहँदै आएको छ।
धरान लक्ष्मीचोकस्थित् हाम्रो घरमा नआउने कुनै कम्युनिष्ट नेता थिएनन्। बा आफैं कम्युनिष्ट पार्टीको सक्रिय सदस्य। विराटनगरको राणा बडाहाकिमको निवासमा धावा बोल्दा र सातसालको जनक्रान्तिमा विभिन्न ठाउँमा लड्दाखेरि त उहाँ कम्युनिष्ट भइसक्नुभएको थिएन। उहाँ त्यस पार्टीमा लाग्नुभएको २००८ सालमा होला शायद। मजदूर फाँट, त्यसमा पनि यातायात मजदूरहरूको सङ्गठनमा उहाँ लाग्नुभएको थियो।
घरमा मजदूर युनियन लेखिएका पर्चा, पुस्तिकाहरू र हँसिया हथौडा अंकित पुस्तक पत्रिकाहरू टन्न हुन्थे। बा बेलाबखत घरबाट हराउनुहुन्थ्यो कैयौं दिनसम्म। एक पटक उहाँ धेरै लामो समय गायब हुनुभयो। चेत आएपछि थाहा भयो त्यस समय सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको रहेछ र अरू धेरै कार्यकर्ताहरू झैं बा ‘अन्डरग्राउन्ड’ हुनुभएको रहेछ।
ठूलो अरजको रातो रङको आयताकार कपडामा सेतो कपडाका टुक्राहरूबाट हँसिया र हथौडा सिइएको कम्युनिष्ट पार्टीको नयाँ झन्डा थियो हाम्रो घरमा लुकाएर राखिएको। त्यसलाई बाहिर देखाउने कुरा आएन। त्यसबेला परिवारको अभावग्रस्त अवस्थामा आमाले त्यो सेतो कपडाको भाग उधारेर झन्डाको रातो कपडाको कमिज मलाई सिलाइदिनुभएको थियो। ६–७ वर्षको हुँदो हूँ म त्यसबेला, निसङ्कोच लगाएँ मैले झण्डाको त्यो कमिज, त्यो पनि आधा बाहुलाको।
पछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो र पहिलो आमनिर्वाचन पनि हुने भयो। सानोतिनो अखाडा नै बनेको थियो हाम्रो घर पार्टी कार्यकर्ता र नेताहरूको। एक्लादोक्लै र झुन्ड झुन्ड मानिसहरू आइरहने। पेपर, चुरोट र बिंडीको सर्को तान्दै लामा लामा कुरा गरिरहने। बेलाबखत कोही घरको दलानमा सुत्थे। कोही हामी जस्ता जोगीको घरमा आएर संन्यासी पाहुना पनि बन्थे। घरको रुखासुखा खाना बाँडीचुँडी खान्थे।
२०१५ सालको आमनिर्वाचनमा धरान ३३ नम्बर निर्वाचन क्षेत्रमा परेको थियो र त्यस क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका थिए दिव्यराज आचार्य। हँसिया र तीन घोगा मकैको चुनाव चिह्न छापिएको हाते पर्चा हामी केटाकेटीहरूले खुबै उत्साहसाथ बाँडेका थियौं। चुनाव प्रचार अभियानको क्रममा अरू नेताहरू झैं कृष्ण सर पनि आएको हुनुपर्छ हाम्रो घरमा। किनभने बनारसवाट बीए पास गर्ने धरानको पहिलो व्यक्ति बनेर उहाँले ‘बी ए कृष्ण’ को ख्याति कमाइसक्नुभएको थियो र युवा कम्युनिष्ट नेताका रूपमा पनि चिनिनुहुन्थ्यो। तर, त्यसबेला उहाँसितको भेट मलाई प्रष्टसित याद छैन।
नगरपालिकाको चुनावमा भने संसदीय चुनावमा जस्तो हाम्रो उम्मेदवारले हार व्यहोर्नु परेन। नौ वटा वडामध्ये ६ वटा वडामा हँसिया र तीन घोगा मकै चुनाव चिह्न भएका उम्मेदवारहरू विजयी भए।
त्यसको एक/डेढ वर्षपछि धरान नगरपालिकाको चुनाव हुने भयो। हामी फुच्चाहरूलाई फेरि काम आइपर्यो उही हँसिया र तीनघोगा मकैको चुनाव चिह्नको पर्चा बाँड्ने। धरान नगरपालिका जम्मा नौ वटा वडामा बाँडिएको थियो। हाम्रो घर एक नम्बर वडामा परेको थियो र त्यस बडाका उम्मेदवार हुनुहुन्थ्यो कृष्णप्रसाद श्रेष्ठ बी.ए।
नगरपालिकाको चुनावमा भने संसदीय चुनावमा जस्तो हाम्रो उम्मेदवारले हार व्यहोर्नु परेन। नौ वटा वडामध्ये ६ वटा वडामा हँसिया र तीन घोगा मकै चुनाव चिह्न भएका उम्मेदवारहरू विजयी भए। दुई वटामा कम्युनिष्ट समर्थित स्वतन्त्र उम्मेदवार चुनिए भने एउटा वडामा रूख चुनाव चिह्न भएका उम्मेदवार।
धरान पब्लिक हाई स्कुलको चउरमा राति बसेर माइकबाट गरिएको नतिजाको घोषणा हामीले सुनेका थियौं। त्यो घोषणा सुनिरहँदा मेरो छेउमा हरेक उम्मेदवारले प्राप्त गरेको मतसंख्या टिप्दै बसिरहनुभएको थियो कृष्ण सरका भाइ हरि श्रेष्ठ। हाम्रो वडाबाट कृष्ण सरले जितेको घोषणा हुँदा हामीले सँगसँगै हर्षोल्लासका साथ ताली पिटेका थियाैं।
त्यो चुनावपश्चात गठन भएको धरान नगरपालिकाको मेयर केदारनाथ खनाल चुनिनुभयो र उपमेयर हुनुभयो कृष्ण सर। अहिलेको भानुचोकलाई बजार अड्डा भनिन्थ्यो उसबेला र धरान नगरपालिकाको अफिस त्यहींको एउटा घरमा खडा भएको थियो। धरानको त्यस पहिलो नगरपालिकाले धरान नगरको विकासका लागि के कस्ता नौला कदम चाल्यो त्यस कुराको हेक्का मलाई अहिले छैन। तर, एउटा कदमको भने टड्कारो सम्झना मलाई अझै छ।
धरानमा गोमन सर्पको बिगबिगी थियो उसबखत। खासगरी गर्मी र बर्खायाममा गोमन सर्पको टोकाइबाट मानिसहरूको मृत्यु भएको खबर बराबर सुनिन्थ्यो। कोठामा सुतेकै बेला फलानालाई सर्पले टोक्यो रे, नयाँ बेहुलीलाई हात चुठ्न राति बाहिर जाँदा हातमै सर्पले डस्यो रे, खेलिरहेको बच्चालाई आँगनमै सर्पले डस्यो रे – यस्ता समाचार बहुधा सुन्न पाइन्थ्यो।
गोमनको डसाइको कुनै ओखती थिएन। डसिमाग्नेको मृत्यु अवश्यभावी थियो। ढुंगाको थुप्रो, काठ थुपारेको ठाउँ, पोथ्रापोथ्री र झ्यासझुस भएको ठाउँ जतासुकै सर्प फेला पर्ने। त्यसैले त्यसबाट जोगिने सबभन्दा सजिलो उपाय नगरपालिकाले निकाल्यो गोमन सर्प मार्ने अभियान। एउटा गोमन सर्प मारे बापत पाँच रूपैयाँको नगद पुरस्कार दिने घोषणा गर्यो नगरपालिकाले। नगद पुरस्कारको लोभले मानिसहरूले गोमन सर्प खोजी खोजी मार्न थाले। कति सुरा व्यक्तिहरूले त त्यस कामलाई पेशा नै बनाए। दिनमा दुई/चार वटा सर्प मार्न सके त ठूलै आम्दानी हुन्थ्यो।
एक दिन हामीले पनि एउटा गोमन सर्प मार्यौं आफ्नै कोठेबारीमा। असलमा कसको प्रहारबाट त्यो सर्प मारियो अहिले म सम्झन्नँ। तर, हाम्रो कोठेबारीमा मारिएको हुनाले त्यस मृत सर्पमाथि हाम्रो अधिकार थियो। कसैले भन्यो तुरुन्त यसलाई लिएर नगरपालिका गईहाल इनाम मिल्छ।
दुईजना साथी तयार भए मलाई साथ दिन। अनि एउटा लामो लट्ठीको छेउमा मरेको सर्पलाई तुर्लुङ्ग झुन्ड्याएर म अघि लागें विजयी भावमा। पूरा लक्ष्मी सडक, छाता चोक, नयाँबजार हुँदै हामी पुग्यौं बजारअड्डामा रहेको नगरपालिका कार्यालयमा। मरेको सर्प दाखिला गरेको जानकारी सप्रमाण सम्बन्धित फाँटमा गरेपछि पाँच रूपैयाँको नगदपुरस्कार टिप्पणी सदर गराउन हामीले पुग्नुपर्यो उपमेयरको कार्यकक्षमा।
त्यहाँ टेबुलपछिल्तिर बसिरहनुभएको थियो कृष्ण सर। चश्मापछिल्तिरका उहाँका आँखाले मलाई ठम्याए। फलानाको छोरा भनेर उहाँले चिन्नु भयो र ए तिमीले ल्याएको ! ल ल भन्दै उत्साहवर्द्धक पाराले कागजमा दस्तखत गरिदिनुभयो। अझै धेरै सर्पहरू मारेर ल्याउनु भन्ने खालको उत्साहवर्द्धक व्यवहार उहाँको थियो। नचिनेका अरू हाकिमका सामु जानु नपरेर कृष्ण सरलाई फेला पार्दा हामीलाई पनि ढुक्क लागेको थियो। गएर त्यस कागजका आधारमा तल अर्को कोठाबाट हामीले रू.५ को नगद पुरस्कार प्राप्त गर्यौं।
पुरस्कृत भइसकेपछि नियमबमोजिम त्यस मरेको सर्पको पुच्छर छिनाल्नुपर्यो। मरेको एउटै सर्पको इनाम दावी गर्न कोही बारम्बार नआओस् भनेर त्यस्तो नियम राखिएको थियो। हामीले सर्पको पुच्छर नगरपालिका भवनको आँगनमै एउटा ढुगाले हिकाई छिनाल्यौं र अर्को नियम अनुसार मरेको लिंडे सर्प पहिले झैं लठ्ठीमा झुन्ड्याएर लगी खहरेको बगरमा मिल्कायौं र खुशीले उफ्रँदै घरतिर दगुर्यौं।
फास्ट फरवार्ड।
मैले धरान कलेजको प्राङ्गणमा खुट्टा टेकी सकेको थिएँ र राजनीतिक रूपले सचेत साहित्यिक वृत्तमा पनि घुसेको थिएँ। वेणु आचार्य, कृष्ण पाखिन, नरेश शाक्य, गोपालराज जोशी, विश्वराज जोशी, रामप्रसाद श्रेष्ठ र पछि जान उदास त्यस वृत्तमा थिए। एक हिसाबले उसबेला साहित्यिक फाँटमा स्थापित भइसकेका। गोविन्द विकल र म चाहिं कनिष्ठ सदस्य थियौं त्यस समूहको। विकल बढी लेख्थ्यो, म बढी पढ्थें।
यस्तै बेलातिर कृष्ण सरको अग्रसरतामा धरानमा नेपाल साहित्य परिषद्को कार्यालय खुल्यो। त्यसको केन्द्रीय कार्यालय काठमाडौंमा थियो। परिषद्को जमघटहरूमा, गोष्ठी र छलफलहरूमा कृष्ण सरसित भेटघाट भइरहन्थ्यो। परिषद्को केन्द्रीय कार्यालयले रामपुर र भद्रपुरमा आयोजना गरेको राष्ट्रिय साहित्यिक भेलामा धरानका केही अगुवा साहित्यकारहरूले पनि भाग लिएका थिए। हामी उनीहरूबाट ती भेलाहरूको अनुभव बडो स्वाद लिएर सुन्थ्यौं।
कृष्ण सर काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो र यदाकदा विदेश यात्रामा पनि जानुहुन्थ्यो। विदेश यात्रामा गएर फर्कनेहरूको अनुभव सुन्न ठूलै भेलाहरूको आयोजना हुने गर्थ्यो उसबेला धरानमा। तर, कृष्ण सरका अनुभवहरू भने परिषद्का कारण हामी छुट्टै र अन्तरङ्ग वातावरणमा पनि सुन्न सक्थ्यौं। काठमाडौंमा समेत पाइला नहालेको म जस्ताका लागि सात समुद्रपारिका देशहरूका बयान कौतूहलपूर्ण हुनु स्वाभाविक थियो। अनेकन् कौतुहलहरू कृष्ण सरका प्रवचनले मेटाइदिन्थे भने केही जिज्ञासा जगाई पनि दिन्थे।
पछि कलेजको अन्तिम वर्षतिर धरानमा सोभियत पुस्तकालय खुल्यो। मलाई त्यसमा काम गर्ने अवसर मिल्यो। कृष्ण सर त्यसको सञ्चालक समूहमा हुनुहुन्थ्यो र लगभग दुई वर्ष मैले त्यहाँ रही काम गर्दा उहाँसँग झनै नगिच हुन पाएँ।
पुस्तकालयमा राखिएका अंग्रेजी भाषाका किताबहरूमा शायदै केही शीर्षक बाँकी थिए होलान् उहाँले पढ्न लिएर नगएका। उहाँले पढिसकेका किताबहरू ठम्याउन गाह्रो थिएन। ठाउँ ठाउँमा परेका पेन्सिलका अधोरेखाहरूबाट ती किताब उहाँका नजरमा परिसकेका हुन् भन्ने सजिलै थाहा हुन्थ्यो। उहाँ जतिको अध्ययनशील व्यक्ति धरानमा शायदै थिए र उहाँका कट्टर विरोधीहरू समेत यस कुराबाट कायल थिए।
फेरि फास्ट फरवार्ड।
म काठमाडौं आएँ बी.ए उत्तीर्ण भएपछि उपरान्त पढ्ने मनसुवाले। संयोग, कृष्ण सर पनि लगभग त्यसैबेलातिर काठमाडौं सर्नुभएको थियो विभिन्न साङ्गठनिक जिम्मेवारीले। उहाँ जुन प्रतिबन्धित राजनीतिक पार्टीसित सम्बन्धित हुनुहन्थ्यो म त्यसैको विद्यार्थी सङ्गठनमा आबद्ध हुन पुगेको थिएँ र त्यसैको गतिविधिमा सक्रिय थिएँ।
कृष्ण सर काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो र यदाकदा विदेश यात्रामा पनि जानुहुन्थ्यो। विदेश यात्रामा गएर फर्कनेहरूको अनुभव सुन्न ठूलै भेलाहरूको आयोजना हुने गर्थ्यो उसबेला धरानमा। तर, कृष्ण सरका अनुभवहरू भने परिषद्का कारण हामी छुट्टै र अन्तरङ्ग वातावरणमा पनि सुन्न सक्थ्यौं।
उहाँ विश्व शान्ति समितिको नेतृत्वदायी समूहमा हुनुहुन्थ्यो र नेपाल–अफ्रोएसियाली एकता समितिको त महासचिवको पद नै उहाँले सम्हाल्नुभएको थियो। युवा विद्यार्थीका नाताले ती सङ्गठनका पदिक काम गर्नेहरूको पंक्तिमा मैले आफूलाई पनि उभ्याएको थिएँ, कृष्ण सर जो हाम्रो अघिल्तिर हुनुहुन्थ्यो। आफ्नो साङ्गठनिक कौशल, राजनीतिक दर्शनको गहन अध्ययन र विद्वत्ता प्रदर्शनको बडो अनुकल अवसर थियो त्यो कृष्ण सरका लागि। सम्भवतः उहाँको राजनीतिक र सामाजिक जीवनको उत्कर्षकाल थियो त्यो।
फेरि फास्ट फरवार्ड।
समय–सरिताको प्रवाहले मलाई हुत्याएर गैर–राजनीतिक किनारमा पुर्यायो। तैपनि म देख्न सक्थे अर्को किनारमा मेरो पितासँगै उभिरहनुभएको कृष्ण सरलाई। धरानमा उहाँका निकटतम राजनीतिक सखाहरूमा शायद दुई जनाभन्दा तीनजना थिएनन्– एकजना स्वर्गीय गोविन्द मोक्तान र अर्का मेरा बा इन्द्रबहादुर थापा। उहाँहरूबीचको सम्बन्धको राजनीतिक, पारिवारिक र व्यक्तिगत आयामहरू यसरी जेलिएका थिए कि तिनलाई अलग्याएर हेर्नु असम्भव नभए पनि कठिन थियो।
पढेको थिएँ गोविन्द मोक्तानको शवलाई समाधिस्थ गर्ने बेला माटो हाल्दै कृष्ण सर सबैका सामु रुनुभएको थियो। मेरो पिताको अर्थीमा धरानका नयाँ पुराना बामपन्थीहरूले संयुक्त रूपमा हँसिया अथौडा अंकित रातो झन्डा ओढाएर हाम्रो आँगनमा सम्मान प्रकट गर्दा कृष्ण सरले फेरि आँशु रोक्न सक्नुभएन। अश्रुसिक्त शब्दहरूले उहाँले साझा पथका आफ्ना सहयात्रीलाई विदाई गर्नुभएको थियो।
एकपछि अर्को समकालीन वैचारिक सहयात्री गुमाएर एक्लो पर्दै गए पनि कृष्ण सर त्यस पथबाट विचलित हुनुभएको छैन जुन पथमा उहाँले पाँच दशकअघि पाइला चाल्नुभएको थियो। पारिवारिक झैझन्झट र हृदय शूलले उहाँलाई केही शिथिल अवश्य पारेको छ तापनि आफ्नो दार्शनिक भावभूमिमा उहाँ उभिइरहनुभएको छ अद्यावधि अविचल। यो आफैंमा चानचुने तपस्या होइन।
कृष्ण सरलाई हेर्दा अझै पनि लाग्छ उहाँमा समयले परिवर्तन ल्याउन सकेको छैन वा समय उहाँलाई बदल्न असमर्थ सावित भएको छ। संगठित र व्यवस्थित दिनचर्या उहाँको त्यस्तै लाग्दछ जो दशकौं अघि थियो। शिष्ट तथा संयमित व्यवहार र बोलचालमा भाषाको सन्तुलित प्रयोग कृष्ण सरको निजी विशेषता हो। त्यसमा समयले कुनै फेरबदल ल्याउन सकेको छैन।
‘इङ्गलिस जेन्टलमेन’ सदृश्य एउटा हातमा उहाँको सदैव छाता रहन्छ घामपानीबाट जोगिनलाई र परेको बेला टेक्ने लौरो बनाउनलाई अनि अर्को हातमा किताब र पत्रपत्रिकाको पुलिन्दा। उहाँको अध्ययनशीलतामा किञ्चित कमी आएको छैन। व्यसन हो उहाँको पढ्ने बानी। आँखामा विकार आएको बेला अर्कालाई वाचन गर्न लगाएर समेत सुन्नुहुन्छ आफूले पढ्न खोजेका कुरा।
मानिस सम्पत्तिको जोरजाममै आजीवन प्रयत्नशील रहन्छन्। तर, उहाँको ध्याउन्न सदैव कुन नयाँ किताब निस्क्यो र त्यो कसरी कहाँबाट छिटोभन्दा छिटो प्राप्त गरेर पढ्न सकिन्छ भन्नेमै रहन्छ। घरमा रहेको किताबसङग्रह नै उहाँको यस व्यसनको जिउँदो प्रमाण हो। उहाँको यस अध्ययनशीलताले स्वभावतः उहाँलाई समसामयिक विश्व राजनीतिक घटनाप्रति सचेत, जागरूक र अद्यावधिक राख्दछ, जसप्रति आफ्नो विश्लेषण प्रस्तुत गर्न उहाँ हरदम तयार रहनुहुन्छ।
दुई वर्षजति अघि धरानमा भएको पत्रकारहरूको क्षेत्रीय भेलामा विश्वको विद्यमान राजनीतिक परिस्थितिउपर उहाँले गरेको विश्लेषण सुनेर काठमाडौंबाट आएका पत्रकार विनोद भट्टराई अतिशय प्रभावित भएर मलाई भनेका थिए– “यस्ता धुरन्धर विद्वान धरानमा रहेछन्। मलाई थाहै थिएन।”
कृष्ण सरले सन् सत्तरीको दशकको ‘देताँ’ र त्यसपछिका ‘ग्लास्नोस्त’, ‘पेरेस्त्रोइका’ जस्ता तत्कालीन सोभियत संघका अन्तर्राष्ट्रिय नीतिदेखि विश्वराजनीतिको वर्तमान परिदृश्यको सारगर्भित विश्लेषण प्रस्तुत गर्नुभएको थियो त्यस भेलामा, केही नलेखिकनै – एक्सटेम्पर।
कृष्ण सरले सन् सत्तरीको दशकको ‘देताँ’ र त्यसपछिका ‘ग्लास्नोस्त’, ‘पेरेस्त्रोइका’ जस्ता तत्कालीन सोभियत संघका अन्तर्राष्ट्रिय नीतिदेखि विश्वराजनीतिको वर्तमान परिदृश्यको सारगर्भित विश्लेषण प्रस्तुत गर्नुभएको थियो त्यस भेलामा, केही नलेखिकनै – एक्सटेम्पर।
वास्तवमा आफ्नो अध्ययनको सीमाभित्र रहेका विषयहरू उपर मौखिक तवरमा सविस्तार बोल्न सक्ने त्यस्तो सामर्थ्य विरल व्यक्तिहरूमा पाइन्छ। उहाँले खास खास विषयमा खास खास अवसरमा बोलेका कुराहरूलाई सङ्गृहित गर्न सकेको भए त्यो आफैंमा एउटा विलक्षण कृति हुन सक्नेथियो। यसै पनि कृष्ण सरले जुन ज्ञानभण्डार आफूभित्र समाहित गर्नुभएको छ त्यसको ज्यादै नगन्य अंश लिखित रूपमा बाहिर निःसृत भएको छ।
द्वन्द्वात्मक भौतिकवादको मार्क्सवादी चिन्तनबाट अभिप्रेरित भएर उहाँले आफ्नो राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। ‘वर्ग सङ्घर्ष’ वा ‘वर्ग विभेद’ उहाँले अंगीकार गरेको राजनीतिक दर्शनको चुरो वस्तु हो। त्यसै परिप्रेक्ष्यमा उहाँ ‘जातीय सङ्घर्ष’ र ‘जातीय विभेद’लाई हालका वर्षहरूमा आएर नजिकबाट नियाल्न थाल्नुभएको छ। उहाँ जस्ता अध्येताबाट हुने यस्तो परिशीलनबाट गहन निष्कर्ष प्राप्त हुने अपेक्षा गर्नु अन्यथा ठहरिने छैन।
कवि, साहित्यकार, राजनीतिज्ञ, विद्वान, विश्लेषक, समाजसेवी जुनसुकै स्वरूपमा हेर्न सकिन्छ कृष्ण सरको बहुआयामिक व्यक्तित्वलाई। उहाँका समग्र सद्गुणहरूबाट धरान र त्यसभन्दा पर्तिरका अनेकन् व्यक्तिहरूको चरित्र निर्माणमा प्रत्यक्ष परोक्ष प्रभाव परेको हुनुपर्छ। अरूका बारेमा अधिकारसाथ भन्न सकिन्न। तर, आज म जे छु र जस्तो छु, त्यसमा अंशतः कृष्ण सरको सान्निध्यको यागदान रहेको छ भनी स्वीकार्दा मलाई संकोच होइन गर्वको अनुभूति हुन्छ।
६ असोज २०६५, काठमाडौं।
(१४ मंसीरमा निधन भएका बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ (८७) बारेको यो लेख हामीले ज्ञानगुन प्रकाशनको २०६७ सालमा प्रकाशित पुस्तिका ‘ज्ञानगुनका कुरा’ भाग– १४४ को ‘कृष्णप्रसाद श्रेष्ठ अंक–५’ बाट साभार गरेका हौं। पुस्तिकामा यो लेख ‘कृष्ण सरको सान्निध्य’ शीर्षकमा छापिएको छ।)