आईएमई नेपाल साहित्य महोत्सव पुस दोस्रो साता
आईएमई नेपाल साहित्य महोत्सवको नवौं संस्करण यही १४–१५ पुसमा (२९–३० डिसेम्बरमा)मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ। १३ पुसमा महोत्सवको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ। उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।
महोत्सवको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन्। सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन। महोत्सवका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने बताइएको छ।
नवौं संस्करणको महोत्सवमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन्। कोभिड कहरका कारण लामो समयसम्म आफूहरू महोत्सवको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए।
उनले थपे, “भर्चुअल रूपमै भएपनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं।”
महोत्सवका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा महोत्सव आयोजना गर्न आफूहरू असमर्थ भएको बताए। भर्चुअल रूपमै भए पनि महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ।
“भौतिक रूपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो”, उनले भने, “तर, कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन।”
सहआयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु महोत्सव र आफूहरूको प्रयास रहेको बताए।
“आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग मेरो धेरै पुरानो नाता छ। म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आईएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ”, फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, “किनकी यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएका छौं।”
दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आईएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम आईएमई नेपाल लिटरेचर फेस्टिभल राख्ने गरिएको छ।