नेपाल प्रिमियर लिगको तयारीमा क्यान
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन्।
लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिगसहित विभिन्न घरेलु खेलहरूको आयोजना छिट्टै गर्न लागेको बताए।
शनिबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पारे। विश्वभर चर्चा पाउने गरी एनपीएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताए।
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनभएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताए।
क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनोट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताए।
यस्तै, निजीस्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानूनी दायरामा ल्याउने बताए। सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताए।