खुमलटारमा ओलीको आग्रह- ‘दस्तावेज फिर्ता लिनुस्’, दाहालले भने–‘कमिटीबाटै टुंग्याऔं’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा पेश गरेको दस्तावेज फिर्ता लिन आग्रह गरेका छन्। दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका ओलीले दस्तावेज फिर्ता लिन गरेको आग्रह दाहालले भने अस्वीकार गरेका छन्।
दाहालको सविचालयका अनुसार उनले दस्तावेजलाई कमिटीबाटै टुंग्याउनुपर्ने जवाफ दिएका छन्। सचिवालय हुँदै स्थायी कमिटीमा पुगिसकेकाले अब कमिटीबाटै निश्कर्ष निकाल्नुपर्ने दाहालले बताएको उनको सचिवालयले जनाएको छ।
“यो अघिपछि भइरहेको छलफलकै निरन्तरता हो। विशेष अरु होइन। पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहरूबीच छलफल भइरहेको छ”, अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, “प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ। अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ। आजको कुरा पनि त्यही हो।”
दुई अध्यक्षबीच छलफल चलिरहेकै बेला उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका थिए। त्यसपछि तीन नेताबीच कुराकानी भएको थियो। ओली खुमलटारबाट बाहिरिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल दाहाललाई भेट्न खुमलटार पुगेका थिए भने ओली मन्त्री निवास पुगेर केही मन्त्रीसँग छलफलमा व्यस्त भए।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा निवासमा थापासँगै एक्लै र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतसँग छलफल गरे।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष दाहालनिवास पुग्नुलाई नेकपाभित्र निकै चासो साथ हेरिएको छ। दाहाल–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरूलाई आफ्नो पक्षमा पार्न फकाउदै आएका छन्।
दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन्। पछिल्लो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको छ। नेकपाले भोलि, ५ पुसमा स्थायी कमिटी र १० पुसमा केन्द्रीय कमिटीको बैठक राखेको छ।