नेकपा विवाद समाधानका लागि नेताहरू सक्रिय, दाहालपछि ओलीले मन्त्रीहरूलाई भेटे
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपामा) देखिएको विवाद समाधानको उपाय स्वरूप नेताहरूबीच शनिबार बिहानैदेखि भेटघाट तीव्र बनेको छ। बिहान ११ बजेदेखि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाहाल निवास खुमलटारमा झण्डै एक घण्टा कुराकानी भयो।
उक्त भेटघाटमा उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए। ओली र दाहालबीच एक्लाएक्लै र गौतमसहित आधा घण्टा कुराकानी भएको थियो। प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल दाहाललाई भेटन् खुमलटार पुगेका थिए।
प्रधानमन्त्री ओली खुमलटारबाट सिधै गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगे। थापाको निवासमा उनले थापासँगै एक्लै र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतसँग छलफल गरे।
दुई महीनादेखि नेकपामा चलिरहेको विवाद सचिवालय बैठकबाट समाधान हुन नसकेपछि स्थायी कमिटीमा पुगेको छ। नेकपाको स्थायी कमिटी बैठक भोलि, ५ पुसमा बस्दैछ। स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा खासगरी प्रधानमन्त्री ओलीले भेटघाटलाई तीब्र पारेका छन्।
ओली आफूविरुद्ध दाहालले २८ कात्तिकमा सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पेजको दस्तावेज फिर्ता लिएर दुई अध्यक्षले संयुक्त दस्तावेज बनाउनुपर्ने पक्षमा छन् भने दाहाल र नेपाल पक्ष दाहाल र ओलीले प्रस्तुत गरेका दुवै दस्तावेजमाथि छलफल भएर कमिटीबाट निर्णय गर्नुपर्ने पक्षमा छन्।
दुवै पक्षको आ-आफ्ना अडानका कारण नेकपामा विवाद झन् बल्झिँदै गएको छ। २९ पुसमा सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद झन बढेको छ। १ पुसमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सरकारका तर्फबाट अहिलेसम्म फिर्ता लिइएको छैन।
प्रधानमन्त्री ओली दाहालले आफूविरुद्ध सचिवालयमा पेश गरेको दस्तावेज फिर्ता गरेपछि मात्र सरकारले अध्यादेश फिर्ता लिने अडानमा छन्। १ पुसमा दुई अध्यक्षबीच सचिवालयमा पेस गरिएका दस्तावेज र सम्पूर्ण पत्र फिर्ता लिएर अघि बढ्ने सहमति भएको बताइएपनि केही समयपछि दाहालको सचिवालयले सचिवालयमा दाहालले पेस गरेको दस्तावेज फिर्ता गर्ने सहमति नभएको भन्दै खण्डन गरेको थियो।
नेकपाभित्र देखिएको विवाद समाधानका लागि खटिएका दोस्रो तहका नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार आज साँझसम्म केही सकारात्मक सन्देश आउने सम्भावना छ। तर, अहिलेसम्म सहमति बनिसकेको छैन।
माधव नेपालनिकट मानिने र पछिल्लो समयमा प्रधानमन्त्री ओलीको खरो आलोचनामा उत्रिएका स्थायी कमिटी सदस्य बेदुराम भुसाल भने पार्टीलाई फुटबाट जोगाउने वा नजोगाउने कुरा ओलीमा निर्भर रहेको बताउँछन्। “सहमति कार्यान्वयन भए पार्टी जोगिन्छ, सहमति कार्यान्वयन नगर्ने र ढाँट्ने र छल्ने भयो भने जोगिन्न, यो सबै प्रधानमन्त्रीमा निहित छ,” उनले भने।