‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया ब्यांक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
एनआईसी एशिया ब्यांक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि ब्यांकक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको शुरूआत गरेको छ। ब्यांकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा ब्यांकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
ब्यांकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकले ब्यांकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजश्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो ब्यांक खाताबाट सजिलै गर्न सक्नेछन्। उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा ब्यांकले जनाएको छ।
‘कर्पोरेट–पे’ प्रणाली शुरूआत गर्नका लागि ग्राहकले ब्यांकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नेछन्। यस प्रणाली शुरूआत गरेपश्चात् प्रयोगकर्ताहरू आफैंले तोकिएको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू ब्यांकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन्।
ब्यांकले मुलुकभर रहेका ३३३ शाखा कार्यालय ४७० एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखारहित ब्यांकिङमार्फत् ब्यांकिङ सेवा प्रदान गरिरहेको छ। ब्यांकले २२ लाख भन्दा बढी ग्राहक आवद्ध रहेको दाबी गरेको छ।