भारतीय क्रिकेट टीमले बनायो खराब कीर्तिमान, टेस्टमा अहिलेसम्मकै कम रन
अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टीमले टेष्ट क्रिकेटमा खराब कीर्तिमान बनाएको छ। भारत टेस्टको दोस्रो इनिङमा मात्र ३६ रनमा अलआउट भयो। भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो अहिलेसम्मकै कम रन हो।
भारतको दोस्रो इनिङमा कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। तीन खेलाडी शून्य रनमा बाहिरिए। सबैभन्दा बढी मायांक अग्रवालले नौ रन बनाए। हनुमा बिहारीले आठ रन बनाउँदा कप्तान विराट कोहोलीसहित चार खेलाडीले चारै रन बनाए।
भारतीय इनिङ ध्वस्त बनाउन अष्ट्रेलियाका जोस ह्याजलउडले पाँच र पाट कुमिन्सले चार विकेट लिए। मोहमद सामी भने ‘रिटायर्ड हर्ट’ भएका थिए। भारतीय खेलाडी अष्ट्रेलियन बलरका सामु २१.२ ओभर मात्र क्रिजमा टिक्न सकेका थिए।
यसअघि भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो भने अष्ट्रेलियाले १९१ रन बनाएको थियो। ९० रनको सामान्य लक्ष पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खानाको समयसम्ममा विनाक्षति १५ रन बनाएको छ।
भारतले यसअघि ४६ वर्षअघि टेस्टको एक इनिङमा सबैभन्दा कम रनको खराब कीर्तिमान बनाएको थियो। सन् १९७४ मा भारतले इङ्ल्याण्डविरुद्ध ४२ रन बनाएको थियो। त्यति बेला भारत १७ ओभरमा अलआउट भएको थियो।