ओलीले खुमलटारै गएर दाहालसँग छलफल गरे
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग उनको निवास खुमलटारै पुगेर छलफल गरेका छन्।
दाहालसँग छलफल गर्न ओली आज बिहानै खुमलटार पुगेका थिए। पार्टीमा सहमतिको प्रयास भइरहँदा ओली दाहाललाई भेट्न खुमलटार पुगेका हुन्। ओली र दाहालबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्।
यसअघि दाहालसँग ओली पक्षीय नेताहरुले छलफल गरेका थिए। स्थायी कमिटी बैठकको अघिल्लो दिन दाहाललाई भेट्न ओली उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ओलीले दाहाललाई नै पटकपटक छलफलका लागि बालुवाटार बोलाउने गरेका थिए।
स्थायी कमिटी बैठक भोलि ५ पुसमा पुनः बस्दैछ। यसअघि १ पुसमा बसेको बैठकअघि प्रधानमन्त्री र दाहालबीच बालुवाटारमा छलफल भएको थियो। छलफलका क्रममा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने र दाहाल नेपाल पक्षले पनि संसदको विशेष अधिवेशन नबोलाउने सहमति भएको थियो। सहमतिपछि ओली पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिए।