कक्षा ११ को नयाँ पाठ्यक्रममा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्न ढिला गर्दा कक्षा सञ्चालन नै अन्याेलमा परेको छ।
काठमाडौंको एक निजी कलेजमा कक्षा ११ मा अध्ययनरत शर्मिला केसी नयाँ पाठ्यक्रम अनुसार पढिरहेकी थिइन्। तर, दशैंपछि नयाँ पाठ्यक्रम पढ्न छाडिन्। पुरानो पाठ्यक्रममा मिल्ने विषय मात्रै पढिरहेकी छिन्। उनी भन्छिन् “अनलाइनमा बल्ल पढाइ हुन थालेको थियो। फेरि नयाँ कि पुरानो पढ्ने भन्ने लफडाले कहिले कक्षा हुन्छ, कहिले हुँदैन।”
सर्वोच्च अदालतले गएको २० कात्तिकमा ‘विद्यालय शिक्षा पाठ्यक्रम प्रारूप–२०७६’ लागू नगर्न अन्तरिम आदेश जारी गरेको थियो। तर, मुद्दाको अन्तिम सुनुवाइ नगर्दा शिक्षक र विद्यार्थी अन्यौलमा परेका छन्।
शिक्षा मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाइ हुने व्यहोरा उल्लेख गराएपछि विद्यालयहरुले त्यही अनुसार पढाउन थालेका थिए। तर, सर्वोच्चको अन्तरिम आदेशसँगै कतिपय विद्यालयहरुले उक्त पाठ्यक्रम अनुसार पढाउन छोडेका छन्। विद्यालयहरुले नयाँ तथा पुरानो पाठ्यक्रममा समान रहेका विषय मात्र पढाइरहेका छन्।
काठमाडौंको थापाथलीस्थित एभरेष्ट कलेजले नयाँ र पुरानो पाठ्यक्रममा भएका समान विषय मात्रै पढाइरहेको जनाएको छ। अनलाइनमार्फत कक्षा संचालन गरिरहेको उक्त कलेजले विद्यार्थीलाई पुस्तकसमेत नकिन्न भनेको छ।
उता मदन स्मारक पुल्चोकमा भने नयाँ पाठ्यक्रम अनुसार पढाइ भइरहेको छ। केही विद्यार्थीले त पुस्तक पनि लिइसकेको प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन्। उनी भन्छन्, “कतिपय विद्यार्थीले किताब किनिसकेपछि अदालतमा रिट परेको थाहा भयो। त्यसपछि किताब नकिन्न भनेका छौं।”
प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। परिषद्ले विज्ञप्ति जारी गर्दै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको जनाएको छ।
यो अन्योलले शिक्षक तथा विद्यार्थी दुवैलाई मर्का परिरहेको उनको भनाइ छ। फैसला पुरानो पाठ्यक्रमको पक्षमा हुँदा विद्यार्थीहरुमा मानसिक दबाब बढ्ने उनी बताउँछन्। “चार महीना नयाँ पाठ्यक्रम पढिसकेपछि फेरि अर्को पाठ्यक्रम शुरुदेखि पढ्नु पर्दा अवश्य पनि मानसिक दबाब पर्छ”, उनी भन्छन्। यस्तो गम्भीर विषयमा अदालतले फैसला गर्न ढिलाइ गर्न नहुने उनी बताउँछन्।
भक्तपुरस्थित विद्यार्थी निकेतन माविले नयाँ पाठ्यक्रम अनुसार पढाइरहेको प्रधानाध्यापक सर्जनी जोशी बताउँछिन्। उनी भन्छिन्, “हामीले नयाँ पाठ्यक्रम अनुसार पढाईरहेका छौं। तर, किताब चाँहि अहिले नकिन्न भनेका छौं।” विद्यार्थीलाई भार नपरोस् भन्नका लागि फैसला नआएसम्म किताब नकिन्न आग्रह गरेको उनी बताउँछिन्।
जोशी भने अदालतले जस्तो फैसला गरे पनि शिक्षक तथा विद्यार्थीमा असर नपर्ने बताउँछिन् । उनी भन्छिन् “नयाँ पाठ्यक्रमको पक्षमा निर्णय भयो भने त गजबै भयो। पुरानोको पक्षमा भयो भने पनि विद्यार्थीले नयाँ विषय बुझ्ने, सिक्ने अवसर पाए नि।”
शिक्षाविद् डा.विद्यानाथ कोइराला विद्यालय संचालकहरुको बद्मासी, शिक्षा मन्त्रालयको निरिहता र अदालतको ढिलो न्यायिक प्रक्रियाले विद्यार्थी अन्योलमा परेको बताउँछन्। उनी भन्छन्, “साहुजीहरुले आफ्नो किताब नबिक्ने भएपछि जुक्ति निकाले, अदालतले न्याय नदिएर इन्साफ दिन खोजीरहेको छ। त्यसले विद्यार्थीलाई असर गरिरहेको छ।” यस्तो संवेदनशील मुद्दामा अदालतले फास्ट ट्रयाक विधिबाट फैसाला नगरेको उनले बताए।
यसैबीच प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। परिषद्ले विज्ञप्ति जारी गर्दै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको जनाएको छ।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भन्डारी यो अन्योललाई सरकारले सम्बोधन गर्नुपर्ने बताउँछन् । आगामी ६ पुसमा फैसला हुने भनिए पनि सुनुवाइ स्थगित हुने वा लम्बिन सक्ने पनि उनको आशंका छ। उनी भन्छन्, “पढाइ हुन थालेको पाँच महिनापछि रिट प¥यो। त्यस लगत्तै यस्तो संवेदनशील विषयमा अदालतको ध्यानाकर्षण गर्दै फास्ट ट्रयाकबाट निर्णय गरिदिन अनुरोध गर्नुपथ्र्यो।”
यो शैक्षिक सत्रका लागि विद्यालयलाई पुरानै पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिन र अदालतको फैसला अनुसार अर्को वर्षको शैक्षिक सत्रमा मात्र पाठ्यक्रम परिवर्तन गर्न सरकारले कदम चाल्नुपर्ने उनी बताउँछन्। तर, सरकारले सहजताका लागि कुनै पहल नगरेको उनी बताउँछन्।
शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मा भने अदालतमा विचाराधीन मुद्दामा प्रतिकृया दिन ठीक नहुने बताउँछन्। “हामीले तयार गरेको पाठ्यक्रममा केही नागरिकले असन्तुष्टि जनाउँदै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ”, उनी भन्छन्, “अझै यो मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रतिकृया दिन मिल्दैन।”