अमेरिकाले मोडेर्नाको कोरोना खोपलाई पनि दियो अनुमति, के छ भिन्नता ?
अमेरिकाले मोडेर्ना कम्पनीले बनाएको कोरोनाभाइरस खोपलाई पनि अनुमति दिएको छ। फाइजर/बायोनटेकपछि अमेरिकामा अनुमति पाउने यो दोस्रो खोप हो।
अमेरिकाको द फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोनटेकको खोपलाई अनुमति दिएको एक हप्तापछि नै मोडेर्नाको खोपलाई अनुमति दिएको हो। फाइजरको खोप भने अहिले वितरण भइरहेको छ। उपराष्ट्रपति माइक पेन्सले शुक्रबार उक्त खोप लगाएको दृश्य टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए।
अमेरिकाले मोडेर्नाको २० करोड डोज खोप किन्न सहमति जनाइसकेको छ। त्यसमध्ये ६० लाख डोज वितरणका लागि तयार रहेको जनाइएको छ। अमेरिका संसारमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतकको संख्या भएको देश हो।
एफडीए प्यानलले बिहीबार २०–० मतका साथ मोडर्नाको खोप अनुमति दिने निर्णय गरेका थिए। एक जना अधिकारी भने अनुपश्थित थिए। मोडेर्नाले खोपलाई १८ वर्षभन्दा माथि उमेरका लागि खतराहरुलाई न्यून बनाएको पनि एफडीएले जनाएको छ। यो खोप सुरक्षित र ९४ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेर मोडेर्नाको खोप उपलब्ध भएको भन्दै बधाई दिएका छन्। खोप तत्काल उपलब्ध हुने उनले जनाएका छन्। उनको ट्विटको जवाफमा केही अमेरिकीले सुरक्षाको प्रश्न उठाएका छन् भने केहीले उनलाई धन्यवाद दिएका छन्।
मोडेर्ना र फाइजरको खोपमा धेरै अन्तर भएको बीबीसीले उल्लेख गरेको छ। मोडेर्नाको खोप एक ठाउँबाट अर्को ठाउँमा लैजान र सुरक्षित राख्न माइनस २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। यो सामान्य फ्रिजर प्रक्रिया रहेको जनाइएको छ।
तर, यही कामका लागि फाइजरको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। जसकारण यसलाई एक ठाउँबाट अर्को ठाउँ लैजान र सुरक्षित राख्न चुनौतीपूर्ण छ।
दुवै खोप दुई डोज लगाउनुपर्छ। मोडेर्नाको खोप पहिलोपटक लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्छ। फाइजरको खोपको दोस्रो डोज भने २१ दिनपछि लगाउनुपर्छ। फाइजरको खोप ९० प्रतिशत मात्र प्रभावकारी भएको बताइएको छ, जबकि मोडेर्नाको खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको उल्लेख छ।