‘सन् २०२१ आन्तरिक पर्यटन भ्रमण वर्ष’
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छ्न्। पर्यटन मन्त्रालयमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाउन तयारी गर्नुपर्ने बताएका हुन्।
सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिनेगरी सरकारले योजना बनाइरहेको मन्त्री भट्टराईले बताए। कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पूरा गरेर पर्यटन बजारलाई बढाउन व्यवसायीहरूलाई आग्रह गरे।
एक अर्को प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुई दिन सार्वजनिक विदा दिने अवधारणा सही रहेको दावी गरे।
कर्मचारी लगायत सबैमा दुई दिनको विदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडि सारेको दुई दिन सार्वजनिक विदा दिने निर्णय सही हुनसक्ने पनि मन्त्री भट्टराईले बताए।
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, होटल एशोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ व्यवस्थामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए।