४१७ मेगावाटको नलगाड आयोजना अगाडि बढाउन छलफल, समयमै डीपीआर नबनाए सम्झौता रद्ध हुने
जाजरकोटमा बन्न लागेको ४१७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी लिएका छन्।
आयोजना प्रमुखसहित कर्मचारी र डीपीआरको जिम्मा पाएको कन्सल्ट्यान्टका प्रतिनिधिसँग मन्त्रीद्वयले शुक्रबार ऊर्जा मन्त्रालयमा प्रतिवेदनबारे आवश्यक जानकारी लिएका हुन्। त्यस क्रममा डीपीआरको काम गर्दै अस्टेेेलियन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले प्रतिवेदनको प्रगतिबारे जानकारी दिए।
भारद्वाज र ढकालले डीपीआरको काम करीब ८५ प्रतिशत सकिएको बताए। बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव कन्सल्ट्यान्टले गरेको छ। त्यसका लागि १२ सेप्टेम्बर २०२१ सम्मको समय माग गरिएको छ। तर, मन्त्रालयले अध्ययन गरी आवश्यक समय दिने जवाफ दिएको छ।
छिटो काम नसके सम्झौता रद्ध : मन्त्री पुन
छलफलमा मन्त्री पुनले डीपीआरको काम तोकिएकै समयमा नसक्नु कमजोरी भन्दै विगतका कमजोरी सच्याएर छिटो काम सक्न आग्रह गरे। अन्यथा डीपीआर निर्माणको सम्झौता खारेज हुन सक्ने चेतावनी उनले दिए।
मन्त्री पुनले आयोजनाको डीपीआर सकिने बित्तिकै सरकारले लगानी जुटाएर काम अघि बढाउने पनि बताए। डीपीआर ढिला हुँदा आयोजना नै नबन्ने खतरा बढ्ने भन्दै मन्त्री पुनले सम्झौताअनुसार काम गर्न डीपीआरकर्ताको ध्यानाकर्षण गराए।
मन्त्रालयले नलगाड जलविद्युत् आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने रूपमा अघि बढाएको छ। मन्त्री पुनले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गर्दै आएका छन्।
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले कल्सल्ट्यान्टले कोभिड–१९ को बहानामा डीपीआरमा ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरे। कोभिडको बहानामा काममा ढिलाइ गर्ने प्रवृत्ति क्षम्य नहुने उनले चेतावनी दिए।
आयोजनाको लागत रू. १ खर्ब ६७ अर्ब
डीपीआरमा उल्लेख भएअनुसार आयोजना सम्पन्न गर्न प्रसारण लाइनबाहेक करीब १ अर्ब ४२ करोड अमेरिकी डलर (करीब रू. १ खर्ब ६७ अर्ब) लाग्ने अनुमान गरिएको छ। आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ। जलासययुक्त आयोजना भएका कारण जलासय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने भएको हो ।
जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ। नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ।
बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन्। ५०० मिटर लम्बाई र २४८ मिटर अग्लो ड्याम बन्नेछ। जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ। आयोजनामा चार वटा टर्वाइन हुनेछन्।
प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा १२ सय ३२ गिगा आवर ऊर्जा उत्पादन हुन्छ। आयोजनाबाट उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् कोहलपुर सवस्टेशनमा जोड्ने योजना छ। आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमी लामो प्रसारण लाइन निर्माण गरिनेछ।