स्वास्थ्य सामग्री खरीद अनियमितताको छानबिन गर्न अख्तियारलाई सिफारिस
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरीद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो।
“यो प्रकरणमा को–को दोषी हुनुहुन्छ, क–कसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखि पाउने गरी निर्णय भएको छ”, बैठकका निर्णय सुनाउँदै समिति सचिव रोजनाथ पाण्डेले भने, “त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउनेछौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ।”
समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो।