ताप्लेजुङमा एकै दिन १० नाल बन्दुक बरामद
पूर्वी पहाडी जिल्ला ताप्लेजुङका विभिन्न ठाउँबाट प्रहरीले बुधबार १० नाल भरुवा बन्दुक बरामद गरेको छ ।
पहाडी जिल्लामा विवाह, जन्म, मृत्यु तथा उत्सवमा बन्दुक पड्काउने चलन छ ।
बुधबार बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खोजीमा निस्किएका प्रहरीले विभिन्न ठाउँबाट बन्दुक बरामद गरेपनि व्यक्तिलाई भने पक्राउ गरेको छैन ।
प्रहरीका अनुसार, फक्तालुङ गाउँपालिका १ सावादिनबाट ३, आठराई त्रिवेणी गाउँपालिका १ बाट १, आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीबाट २, श्रीजंगा गाउँपालिका ३ कुन्जरीबाट ३ नाल बन्दुक फेला परेको छ ।
श्रीजंगा ३ का तुलाराम काङबाङले भने १ थान लाइसेन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार, वन्यजन्तुको सिकार र उत्सवहरूमा पड्काउन यस क्षेत्रका बासिन्दाले घरमा बन्दुक राख्ने गरेका छन् ।
बन्दुक घरमा राख्नेलाई सम्झाएर प्रहरीलाई बुझाउन लगाउने गरिएको उनले बताए ।
बन्दुक खोजी गर्ने ३५ दिने अभियानमा ३७ वटा भरुवा बन्दुक ताप्लेजुङमा मात्रै फेला परेको प्रहरीको भनाइ छ । ६ गते अभियान सकिए पनि बन्दुकको खोजी जारी राखिने थापाले बताए ।
बिहीबार पनि बिहानैदेखि ताप्लेजुङका गाउँहरूमा बन्दुकको खोजीमा प्रहरी परिचालित छन् । इलाका प्रहरी कार्यालय तेल्लोकका निरीक्षक ब्रम्हदेव साहका अनुसार, बन्दुक राखेको घर पहिचान गरी सम्झाएर प्रहरीलाई बुझाउन लगाउने गरिएको छ ।