अध्यादेश तत्काल फिर्ता लिएर संसद बोलाउन कांग्रेसको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले सरकारले पछिल्लोपटक ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेको छ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
“सरकारले संवैधानिक परिषद् सम्बन्धी जुन अध्यादेश ल्याएको छ यो संविधानको भावना र मर्म विपरीत छ। संविधानको व्यवस्था र भावना, मर्म विपरीत ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस्। संविधानको व्यवस्थामाथि कुनै खेलवाड नगरोस्। यो स्वीकारयोग्य छैन। फिर्ता हुनुपर्छ”, खाँणले भने।
त्यसैगरी, संसदको अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँणको भनाइ छ। बैठकले संसद अधिवेशन अविलम्ब बोलाउन समेत माग गरेको उनले बताए।
“अबिलम्ब जनताको समस्याहरूलाई छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको कमि कमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशिलताका निम्ति सदनको अधिवेशन अबिलम्ब बोलाउनुपर्छ”, उनले भने।
बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रूपमा असफल भएको निश्कर्ष समेत निकालेको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ। कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ।
“कोरोना महामारीको व्यवस्थापन गर्न सरकार पूर्णतः असफल भएको छ। आम नागरिकको जीवन रक्षा गर्ने सरकारको पहिलो दायित्व हो। कोरोना नियन्त्रण, व्यवस्थापन र संक्रमितको उपचारमा सरकार गम्भीर छैन”, प्रमुख सचेतक खाँणले भने, “आर्थिक अनियमितता र भ्रष्टाचार गरिराखेको छ। यो अनियमितता, भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाही गरोस्।”
यसैगरी, उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए। उखु किसानको आन्दोलनलाई सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने कांग्रेसले बताएको छ।
बैठकले केही समयअघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दुःखद घटना भन्दै भत्र्सना गरेको छ।
यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषीउपर कारबाही गर्न बैठकले माग गरेको छ। प्रमुख सचेतक खाणले भने, “कुनै पनि नागरिकलाई, जनतालाई कसैले पनि कुनैपनि बाहनामा जीवनमाथि आक्रमण गर्न पायँदैन। हत्या, हिंसा गर्न पाइदैन। यस्तो हिंसात्मक घटना रोकियोस् र श्रेष्ठको हत्या गर्नेलाई सरकारले कारबाहीको दायराभित्र ल्याओस्।”