टिकापुर घटनामा उच्च अदालत दिपायलको फैसलाः रेशम चौधरी, लक्ष्मण थारुसहित आठ जनालाई जन्मकैद
उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार ठहरिएका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ। यसअघि तीन वर्ष कैद सजाय पाएर छुटिसकेका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदकै फैसला सुनाएको छ।
रेशम चौधरीसहित सात जनालाई जिल्ला अदालतले गरेको फैसला नै सदर गरेको हो। तर, लक्ष्मण थारु भने जिल्ला अदालतले तोकेको तीन वर्षको जेल सजाय भुक्तान गरी छुटिसकेका थिए। उच्च अदालतले उनलाई पनि जन्मकैद हुने फैसला सुनाएको छ।
वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार रेशमलाल चौधरीसहित हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गङ्गाराम चौधरीलाई जन्मकैदको फैसला सदर गरेको हो। यसअघि जन्मकैद पाएका चार जनाको भने कैद घटनाएर पाँच वर्ष तोकिएको छ। जन्मकैदको सजाय तोकिएका सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई जनही पाँच वर्ष कैद सजाय हुने फैसला छ।
अन्य सात जनाको फैसला सदर भएको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन्। बिहीबार तोकिएको पेशीमा वादीतर्फबाट पाँच र प्रतिवादीतर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेका थिए। रेशमसहितका प्रतिवादीले जिल्ला अदालतको फैसलाविरुद्ध फागुन २०७६ मा उच्च अदालतमा पुनरावेदन गरेका थिए।
जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा सो मुद्दाको सुनुवाइ गर्दैै रेशम चौधरीसहित १० जनालाई जन्मकैद, एक जनालाई १० वर्ष कैद र ३ जनालाई सफाइ दिएको थियो। घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहितलाई दोषी भएको ठहर गरेको थियो।
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो।
घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो। २१ मंसीर २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रेशम चौधरी कैलाली १ बाट निर्वाचित भएका छन्।
निर्वाचित भएको १३ महिनापछि १९ पुस २०७५ मा चौधरीले सांसद पदको शपथ लिएका थिए। जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए।