वडा कार्यालयहरुका लागि धमाधम भवन बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले वडा कार्यालयहरुका लागि नयाँ भवन निर्माण र तला थपको कामलाई तीव्ररूपमा अघि बढाएको छ। चार वटा वडाका लागि भवन निर्माण भइसकेको छ भने अरु तीन वटाको धमाधम बनिरहेका छन्।
मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन पुनः निर्माण, निर्माण र तला थप गर्ने योजनाअनुरूप काम अघि बढाइएको बताएका छन्। अहिलेसम्म महानगरको वडा नं ९, १४ ,१८ र २६ को भवन निर्माणपछि सेवा प्रवाह शुरु भइसकेको छ। वडा नं ३ र ४ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं २ को भवन निर्माण प्रक्रिया शुरु गरिएको छ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडा नं ६ को पहिलो ढलान कार्य सम्पन्न भएको छ। वडा नं १२, १६, २१ र २९ को भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ।
गोरखा भूकम्पका कारण पुनः निर्माण गर्न मिल्नेलाई निर्माण कार्य अघि बढाइएको छ भने मर्मत गरेर हुनेलाई मर्मत र आवश्यकताअनुरूप तला थप गर्नुपर्नेलाई सोही अनुरुपको काम पनि गरिरहेको छ। सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण भइरहेको छ।
सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो। एउटा कार्यालय भवन निर्माणका लागि रु.२ करोड ५० लाख लाग्ने अनुमान छ।
“कतिपय वडाका भवनमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ”, प्रवक्ता डङ्गोलले भने, “हाम्रै कार्यकालमा कामपाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको छ।” वडा नं ८ मा सामान्य विवाद देखिएको छ। ती बाहेकका सबै वडामा विवादरहित ढङ्गले काम भइरहेको छ।