उपप्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेहरूलाई साधारण धरौटीमा छोडिएको भन्दै कारबाहीको मागसहित प्रदर्शन भइरहेका छन्। चलाउनेलाई त्रिवि परिसरभित्रै गत २० असोज सांघातिक आक्रमण भएको थियो।
आरोपीहरू रुपेश साह, रबिन लामा, निरज थापा मगर र सयुज श्रेष्ठले त्रिविका नेविसंघ सभापति हरि आचार्य र महासचिव योगेन्द्र रावलको निर्देशनमा आक्रमण गरेको बयान दिएका छन्। ज्यान मार्ने नियतले आक्रमण गर्नेलाई काठमाडौं जिल्ला अदालतले साधारण धरौटीमा छोडेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्।
उपप्राध्यापक चलाउने आरोपीहरूले अपराध स्वीकार गरिसक्दा पनि छोडिनु दण्डहिनताको पराकाष्ट भएको बताउँछन्। भन्छन् “आक्रमण गर्नेहरूले कसको निर्देशनमा कहाँ र कसरी आक्रमण गरेको सबै बयान दिँदा पनि अदालतले छोडेको छ। न्याय माग्न कहाँ जानुपर्ने हो म?”
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले उनीहरूलाई छोडेको हो। त्रिवि परिसरभित्रै शिक्षकमाथि सांघातिक आक्रमण गर्ने अपराधीहरू सहज रूपमा छोडिँदा अन्य शिक्षक तथा विद्यार्थीमा त्रास बढेको उनीहरू बताउँछन्।
यो घटनापछि समाजशास्त्र अध्ययनरत मनोज खतिवडा परिसरभित्रै आक्रमणमा पर्न सकिने अथवा ज्यान नै समेत जाने जोखिम बढेको बताउँछन्। यो घटना घटाउन संलग्नहरू सहज रूपमा छोडिँदा एक्लै कलेज जान पनि डरलाग्दो भएको अनुभव गरिरहेका छन्। उनी भन्छन् “त्रिविका शिक्षकमाथि दिनदहाडै सांघातिक आक्रमण गर्नेहरू त यत्ति सजिलै छुट्दा रहेछन् हामी त झन् साधारण विद्यार्थी। कुनबेला के हुने हो ठेगान छैन।”
अहिले मनोज लगायत अन्य विद्यार्थी एवं शिक्षकहरू अपराधीहरूमाथि कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरू त्रिवि परिसरभित्रै असुरक्षित र त्रासको वातावरण बनेको बताउँछन्। शिक्षाक्षेत्र शान्ति क्षेत्र हुनुपर्नेमा सांघातिक आक्रमण हुने थलो बन्दै गएको भन्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन्।
त्रिवि नेपाल कै पुरानो विश्वविद्यालय हो। विश्वविद्यालयमा विचारको मन्थन, ज्ञान निर्माण, वितरण र परीक्षण गर्ने थलो हो। तर, पछिल्लो समय राजनीति गर्ने र भागबन्डा नमिले किचलो गर्ने थलो रूपमा देखिन थालेको विद्यार्थीहरू बताउँछन्।
त्रिवि समाजशास्त्र विभागका गुमानसिं खत्री कुनै पनि विद्यार्थीले योजनाबद्घ रूपमा आफ्ना शिक्षकलाई ज्यान मार्ने नियतले सांघातिक आक्रमणमा उत्रनु एकदमै गम्भीर भएको बताउँछन्। शिक्षाक्षेत्रमा यस्तो हर्कत गर्नेलाई कडा कारबाही गरिनुपर्ने उनको माग छ।
यो घटनाले त्रिविमा कार्यरत एवं अध्ययनरत सबैमा भय सिर्जन गरेको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिना बताउँछन्। त्रिविमा विद्यार्थीका नाममा जथ्था तयार गर्न भने अघिल्लो कार्यकालका र अहिलेका पदाधिकारीहरू जिम्मेवार रहेको उनको भनाइ छ। “पदाधिकारीहरूले नै आफ्नो सहजताका लागि यस्ता जथ्था तयार गर्छन्। अघिल्लो कार्यकालका र अहिलेको पदाधिकारीहरू यसका जिम्मेवार हुन्”, उनले भने।
धेरैपटक आफूले पनि भौतिक आक्रमणका धम्कीहरू खेप्नु परेको उनले अनुभव सुनाए। भन्छन् “आफूले भने जस्तो नहुँदा धम्की त दिन्छन् तर, भौतिक आक्रमण नै त हुँदैन भन्ने लाग्थ्यो। तर, यो घटनाले भय पैदा भएको छ।”
यसले विद्यार्थी र विश्वविद्यालयको छवि धमिल्याउने काम गरेको उनको दाबी छ। “विद्यार्थी नामक समूहले प्रेम चलाउने जस्तो इमान्दार र निर्दोष व्यक्तिलाई सांघातिक आक्रमण गर्नु एकदमै भर्त्सनायुक्त कार्य हो। तत्काल दोषीलाई कारबाही गर्नुपर्छ”, तिमिल्सिनाले थपे।
चिकित्सका अनुसार उपप्राध्यापक चलाउनेको खुट्टा भाँचिएको छ। ६ महीनापछि मात्रै खुट्टा राम्ररी टेक्न मिल्ने बताएको चिकित्सकहरूले बताएका छन्। चलाउने अहिले बैशाखीको सहारामा एउटा कोठादेखि अर्को कोठासम्म हिँडिरहेका छन्। “मलाई रेकी गरी गरी आक्रमण गर्नुपर्ने के गरेको थिएँ र ?” चलाउने भन्छन् “बिना गल्ती ज्यान जाने किसिमको आक्रमण गर्नेलाई सामान्य धरौटीमा छोड्दा म जस्ता निहत्था मान्छेले न्याय पाउँदैनन् भनेर नजीर बसेको छ।”
चलाउनेले न्याय पाउनुपर्ने भन्दै लेखक तथा रंगकर्मीहरूले पनि आवाज उठाउन थालेका छन्।